गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा साढे १२ अर्ब बढि रकम जम्मा भएकाे छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार काेषमा १२ अर्ब ६३ करोड ९२ लाख ५७९ रुपैयाँ जम्मा भएको बताइएकाे छ । कोषमा जम्मा भएको उक्त रकममध्ये ९ वटा वाणिज्य बैंकका खाताहरूमा ९ अर्ब ३२ करोड ६७ लाख ८२ हजार २३५ रुपैयाँ जम्मा भएको छ ।
त्यसैगरि दुई वटा वाणिज्य बैंकमा २ करोड १८ लाख ९ हजार ४४४ अमेरिकी डलर जम्मा भएको छ । बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि यस कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
उक्त विनाशकारी बाढीपछि सरकारले राहत र पुनर्स्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेसँगै स्वदेश तथा विदेशबाट रकम संकलन भई कोषमा दाखिला भएको हो ।