आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती मुलुकभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । वि.सं. १९२३ साल भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा परलोक भएका भट्टकाे सम्झनामा जन्मजयन्ती मनाउन लागिएकाे हाे ।
युवाकवि मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि महत्त्वपूर्ण योगदान पुर्याएका थिए । भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए भने यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुवात भएको मानिन्छ ।
भट्टको १६१औँ जन्मजयन्ती अवसरमा आज नेपाली शिक्षा परिषद्, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत विभिन्न साहित्यिक संस्थाले कार्यक्रम आयोजना गर्न लागेको जनाइएको छ । परिषद्ले दिउँसो २ बजे कवि सम्मेलनका साथै युवा वर्ष मोती पुरस्कार वितरण गर्न लागेको अध्यक्ष रमा शर्माले जनाएकी छन् ।