आज देशभर हिन्दु नारीहरुकाे विशेष पर्व हरितालिका तीज मनाइँदै छ । काठमाडाैंकाे पशुपतिनाथ लगायत देशभरकाे शिवलयहरुमा महिला व्रतालु भक्तजनहरुले पूजा आरधना गरि याे पर्व मनाउन लागेका हुन् ।
सेहि अनुसार बिहानैदेखि हरितालिकाकाे अवसरमा पशुपति क्षेत्रमा महिला व्रतालु भक्तजनको लाम लागेको छ । हरितालिका व्रत बसेका महिलाको सहजताका लागि आज बिहान तीन बजेदेखि नै पशुपतिनाथका चार वटै ढोका खोलिएको छ भने मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चार वटा दर्शन मार्गको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
जसमा पहिलो लाम मित्रपार्क–उमाकुण्ड–दक्षिणामूर्ति–कैलाश बद्रीनरसिंहको भवन हुँदै वासुकीनाथको उत्तरतर्फको ढोकाबाट श्री पशुपतिनाथ मन्दिरको उत्तरतर्फको र्याम्पबाट आराध्यदेव भगवान्को दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने प्रबन्ध मिलाइएको छ ।
त्यसैगरि दोस्रो लाम जयवागेश्वरीबाट देब्रेतर्फको मार्ग दथुटोल, पाचा गणेश, अन्नपूर्णभण्डार, महास्नानघरअघिको १ नं. ढोकाअघि राखिएको आकासे पुलबाट भुवनेश्वरी, नासलचोक हुँदै शङ्कराचार्य मठअघिको आकासेपुल प्रहरी पहरा गणको सानो ढोकाबाट दुई लाइन पशुपतिको पश्चिमतर्फ रहेको काठको ¥याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने प्रबन्ध मिलाइएको छ ।
तेस्रो लाम सिनामङ्गल, एयरपोर्टतर्फबाट आउने दर्शनार्थी भक्तजनका लागि तिलगङ्गा पर्यटन काउन्टरसँगै रहेको ढोका, राम मन्दिर, वाग्मती किनारा हुँदै आर्यघाटको पुलबाट ब्रह्मनाल, पूर्वढोकामा राखिएको ¥याम्पबाट पूर्व मुहारको दर्शन गराई सोही ढोकाबाट फर्कने प्रबन्ध मिलाइएको छ ।
त्यस्तै पिङ्गलास्थानतर्फबाट आउने दर्शनार्थी भक्तजनका लागि पिङ्गलास्थानमा रहेको ढोका हुँदै चार शिवालय–पञ्चदेवल वृद्धाश्रम दक्षिणतर्फको ठूला ढोका अघि अस्थायी आकासे पुल हुँदै सानो ढोकाबाट चौँसट्ठी कोटीलिङ्गेश्वर हुँदै मन्दिरको दक्षिण मुहारको दर्शनपश्चात् उन्मत्त भैरव मन्दिरको पश्चिमतर्फबाट मूलभट्ट निवास अघिबाट फर्कने प्रबन्ध मिलाइएको छ ।
बिहानको समयमा भक्तजनले सहज रुपमा लाममा बसेर आराध्यदे भगवान् पशुपतिनाथको दर्शन गरिरहेकाे कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिएका छन् । बिहान लाममा बसेको आधा घण्टामा व्रतालुले दर्शन गरेर फर्कन सक्ने अवस्था मिलाइएकाे पनि उनले बताए ।
तीज पर्वका अवसरमा आज पशुपति क्षेत्रमा चार हजार सुरक्षाकर्मीका साथै २४ वटा धार्मिक एवं सामाजिक संस्थाका ८५५ जना स्वयंसेवक खटाइएको कोषले जनाएको छ । हरितालिका पर्वका अवसरमा आज पशुपतिनाथका साथै देशभरका शिवालयमा पूजा एवं दर्शन गर्न भक्तजनको लाम लागेको छ ।
काठमाडाैंकाे गोकर्णेश्वर, नागेश्वर, सानो पशुपतिनाथ भनेर चिनिने वसन्तपुर दरबार क्षेत्रस्थित मक्खन महादेव, डोलेश्वर, त्रिपुरेश्वरलगायत महादेव मन्दिरमा भक्तजनको लाम लागेको बताइएको छ ।