Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, असोज ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सोलुखुम्बुदेखि अमेरिकासम्म : रियलस्टेटमा जितमान बस्नेतको अभूतपूर्व छलाङ

- शुभ बिहानी / सोमबार, असोज ०५, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

२५ हजार रियल्टरमध्ये ‘युनाइटेड रियल स्टेट एलाइट अवार्ड’ प्राप्त गर्ने पहिलो नेपाली

नर्थ क्यारोलिना, अमेरिका । अमेरिकामा बसोबास गर्ने नेपालीहरूको आकर्षक गन्तव्य बन्दै गएको नर्थ क्यारोलिनामा घरजग्गा कारोबार अर्थात् रियलस्टेट क्षेत्रमा जितमान बस्नेतले छोटो समयमै उल्लेखनीय पहिचान बनाउन सफल भएका छन्। सोलुखुम्बुको लिखुपिकेबाट अमेरिका पुगेका बस्नेत अहिले नर्थ क्यारोलिनाको रियलस्टेट क्षेत्रमा नेपाली समुदायबीच परिचित नाम बनेका छन्।

सामान्य सपना बोकेर अमेरिका पुगेका बस्नेतले राजधानी वासिङ्टन डीसीमा केही समय बिताएपछि नर्थ क्यारोलिनालाई आफ्नो कर्मभूमि बनाए। पछिल्ला तीन–चार वर्षमा रियलस्टेट क्षेत्रमा उनले हासिल गरेको सफलता धेरैका लागि प्रेरणादायी बनेको छ।

यसै वर्ष टेक्सासको ड्यालसमा आयोजित एक विशेष समारोहमा बस्नेतले ‘युनाइटेड रियल स्टेट एलाइट अवार्ड’ प्राप्त गरे। बहुराष्ट्रिय कम्पनी United Real Estate ले आयोजना गरेको उक्त समारोहमा अमेरिकाभर रहेका करिब २५ हजार रियल्टरमध्येबाट उनलाई सम्मानका लागि छनोट गरिएको थियो। नर्थ क्यारोलिना राज्यबाट उनी उक्त सम्मानका लागि छनोट भएका थिए।

यो अवार्ड प्राप्त गर्ने उनी पहिलो नेपाली भएको बताइएको छ। साथै, नर्थ क्यारोलिना राज्यबाट ‘एलाइट अवार्ड’ प्राप्त गर्ने पहिलो रियल्टर पनि आफू भएको बस्नेतको भनाइ छ।

उक्त समारोहमा उनले Millennium Club Award र Top Agent Sales Volume Award समेत प्राप्त गरे। एकै समारोहमा तीनवटा सम्मान प्राप्त गर्नु उनका लागि महत्वपूर्ण उपलब्धि बनेको छ।

बस्नेतका अनुसार निरन्तर मेहनत, ग्राहकको विश्वास र समुदायको साथले आफूलाई यहाँसम्म पुर्‍याएको हो।

“म सम्पूर्ण रूपमा मन, वचन र कर्मले यही क्षेत्रमा प्रतिबद्ध भएर लागेकाले यस क्षेत्रमा राम्रो गर्न सकेँ जस्तो लाग्छ। निरन्तर मेहनत, ग्राहकको विश्वास र समुदायको साथकै कारण म यहाँ पुगेको हुँ,” बस्नेतले भने।

लगातार तीन वर्ष कम्पनीकै उत्कृष्ट एजेन्ट

बस्नेतले सन् २०२२, २०२३ र २०२४ गरी लगातार तीन वर्ष आफ्नै कम्पनीभित्र सबैभन्दा धेरै कारोबार गर्ने उत्कृष्ट एजेन्टको उपाधि प्राप्त गरेको बताएका छन्।

रालेमा रहेको United Real Estate Triangle कम्पनीमा आबद्ध बस्नेतसँगै उक्त कम्पनीअन्तर्गत ठूलो संख्यामा रियलस्टेट एजेन्टहरू कार्यरत छन्।

सन् २०२४ को उत्कृष्ट प्रदर्शनका लागि पनि बस्नेतले विभिन्न सम्मान प्राप्त गरेका थिए। रालेमा सम्पन्न समारोहमा उनले Millennium Club lEite Award 2024, Top Agent Award – Transactions 2024 / Top Agent Award – Sales Volume 2024 प्राप्त गरेका थिए।

बस्नेतका अनुसार एकै दिनमा चारवटासम्म घरको किनबेच प्रक्रिया पूरा गरेको अनुभव छ। उनी अहिले पूर्णकालीन रूपमा रियलस्टेट व्यवसायमै सक्रिय छन्।

“पेशा नै यही भएपछि पूर्ण रूपमा प्रतिबद्ध भएर उत्कृष्ट गर्न कोसिस गर्नु नै पर्‍यो,” उनले भने।

उनका अनुसार उनले हालसम्म करिब ४५ वटा घरको किनबेच कारोबार सम्पन्न गरिसकेका छन्। औसतमा महिनामा करिब १० वटा घरको कारोबार गर्ने गरेको उनको भनाइ छ।

नेपाली समुदायबीच बढ्दो विश्वास

नर्थ क्यारोलिनामा नेपाली समुदायको संख्या बढ्दै जाँदा बस्नेतको रियलस्टेट व्यवसाय पनि विस्तार हुँदै गएको छ। घर किन्ने वा बेच्ने विषयमा नेपाली समुदायका धेरै परिवारले उनको सल्लाह र सहयोग लिने गरेका छन्।

क्यालिफोर्निया, टेक्सास, बोस्टन, न्यूयोर्क, मिनेसोटा, भर्जिनियालगायत अमेरिकाका विभिन्न राज्यबाट नर्थ क्यारोलिना सर्ने नेपालीमध्ये धेरैले घर खोज्ने क्रममा बस्नेतसँग परामर्श लिने गरेका छन्।

न्यूयोर्कबाट नर्थ क्यारोलिनाको राले सरेका कर्मा शेर्पाका अनुसार बस्नेतको अनुभव र सहयोगी स्वभावले उनलाई समुदायमा विश्वासिलो बनाएको छ।

“घर कारोबारमा जितमानले मारेको छलाङ साँच्चै नै अनुकरणीय छ। घर कारोबारमा कहलिएका, अनुभवी र हरेक कुरामा सहयोग गर्ने स्वभावका कारण जितमान यो क्षेत्रमा चम्किएका हुन्,” शेर्पाले भने।

बस्नेतले केरी, मोरिसभिल, एपेक्स, होली स्प्रिङ्स, फुके–भेरिना, गार्नर, वेक फरेस्ट, ड्युरहम, वेन्डेल, नाइटडेल र न्यु हिललगायत क्षेत्रमा नेपाली परिवारलाई घर खोज्न तथा बसोबास व्यवस्थापनमा सहयोग गर्दै आएका छन्।

किन नेपालीको रोजाइमा पर्दैछ नर्थ क्यारोलिना

पछिल्ला केही वर्षमा नर्थ क्यारोलिना नेपाली समुदायको नयाँ गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। तुलनात्मक रूपमा अनुकूल मौसम, रोजगारीका अवसर, उच्च प्रविधिका कम्पनी र प्रतिष्ठित विश्वविद्यालयका कारण राले–ड्युरहम क्षेत्र नेपालीहरूको आकर्षणमा परेको हो।
राले–ड्युरहम क्षेत्रमा रहेको Research Triangle Park (RTP) विश्वकै चर्चित अनुसन्धान तथा प्रविधि केन्द्रमध्ये एक हो। यस क्षेत्रमा विभिन्न अनुसन्धान संस्था तथा उच्च प्रविधिका कम्पनीहरू रहेका कारण रोजगारीका लागि पनि धेरै मानिस आकर्षित हुने गरेका छन्।
त्यस्तै, Duke University, north Carolina Qmate University र University of north Carolina जस्ता विश्वविद्यालयका कारण नेपाली विद्यार्थी तथा उनीहरूका परिवारको उपस्थिति पनि बढ्दै गएको छ।
पछिल्ला पाँच–सात वर्षमा राले तथा आसपासका क्षेत्रमा नेपाली समुदायको संख्या उल्लेख्य रूपमा बढेको स्थानीयहरूको भनाइ छ। रालेपछि सार्लोट, ग्रीन्सबोरो र हाइपोइन्टलगायत क्षेत्रमा पनि नेपालीको बाक्लो उपस्थिति रहेको बताइन्छ।
बस्नेतका अनुसार राले क्षेत्रमा मात्रै करिब १५–१६ हजार नेपाली रहेको अनुमान छ भने नर्थ क्यारोलिना राज्यभर नेपाली तथा नेपालीभाषीको संख्या ३०–३५ हजारको हाराहारीमा रहेको अनुमान गरिन्छ।

पत्रकारिता र मानवअधिकारको पृष्ठभूमि

रियलस्टेट क्षेत्रमा स्थापित हुनुअघि बस्नेत पत्रकारिता तथा कानुनी क्षेत्रमा सक्रिय थिए। उनी सगरमाथा टाइम्स पत्रिकाको सम्पादकीय नेतृत्वमा समेत रहेका थिए। नेपालमा करिब डेढ दशक मानवअधिकारसम्बन्धी कानुनी अभ्यास गरेको उनको पृष्ठभूमि छ।

नेपालमा माओवादी द्वन्द्व तथा राजाको प्रत्यक्ष शासनको समय पत्रकारितामा सक्रिय रहेका बस्नेतलाई तत्कालीन घटनाक्रमका क्रममा नेपाली सेनाले लामो समय हिरासतमा राखेको थियो। उनी २५८ दिनसम्म भैरवनाथ गणमा हिरासतमा रहेको बताउँछन्।

हिरासतका क्रममा आफूले भोगेका अनुभव तथा यातनाका विषयमा उनले पुस्तकसमेत लेखेका छन्। सोही कथावस्तुमा आधारित ‘बधशाला’ नामक चलचित्रसमेत निर्माण भएको छ।

सामाजिक सेवामा पनि सक्रिय

व्यावसायिक सफलतासँगै बस्नेत सामाजिक क्षेत्रमा पनि सक्रिय छन्। उनले पछिल्ला तीन वर्षदेखि ‘मेची–महाकाली सेतो छडी अभियान’ मार्फत नेपालका दृष्टिविहीनहरूलाई आवश्यक सामग्री निःशुल्क उपलब्ध गराउँदै आएको बताएका छन्।

रियलस्टेट व्यवसायमा निरन्तर सफलता हासिल गर्दै आएका बस्नेतका लागि व्यवसायिक उपलब्धिसँगै सामाजिक सेवामा सक्रियता पनि आफ्नो यात्राको महत्वपूर्ण हिस्सा बनेको छ।

नेपालबाट अमेरिका पुगेपछि विभिन्न क्षेत्रमा संघर्ष गर्दै रियलस्टेट व्यवसायमा स्थापित भएका बस्नेतको यात्रा अहिले नर्थ क्यारोलिनाको नेपाली समुदायमा सफलताको उदाहरणका रूपमा चर्चा हुन थालेको छ।

थाइल्यान्डमा मानवीय तथा सामाजिक सेवाका लागि सम्मान

रियलस्टेट व्यवसायमा उत्कृष्ट प्रदर्शन गर्दै आएका जितमान बस्नेतलाई हालै थाइल्यान्डको पटायामा आयोजित एक विशेष समारोहमा Global Humanitarian & Social Service Award 2026’ बाट सम्मान गरिएको थियो।
नेपाल–थाइल्यान्ड मैत्री महोत्सव तथाAsia Global Excellence Awards 2026 अन्तर्गत १६ अगस्ट २०२६ मा पटायामा आयोजित समारोहमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
Worldwide Production Media Pvt. Ltd. र Himalayan Community Project को आयोजनामा सम्पन्न कार्यक्रममा बस्नेतलाई सामाजिक सेवा तथा मानवीय क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान गरिएको थियो।
रियलस्टेट व्यवसायमा हासिल गरेको व्यावसायिक सफलतासँगै सामाजिक सेवामा समेत सक्रिय बस्नेतका लागि थाइल्यान्डमा प्राप्त उक्त सम्मान अर्को महत्वपूर्ण उपलब्धि बनेको छ।

Page Views: 11
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दाे
कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
कोशीमा डेंगु संक्रमणको प्रकाेप बढ्दाे
ताजा अपडेट
  • सोलुखुम्बुदेखि अमेरिकासम्म : रियलस्टेटमा जितमान बस्नेतको अभूतपूर्व छलाङ
  • बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दाे
  • कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
  • कोशीमा डेंगु संक्रमणको प्रकाेप बढ्दाे
  • एमाले केन्द्रीय कमिटीको बैठक बिहान ११ बजे बस्दै
  • इन्द्रजात्राको तयारी तीव्र
  • सुनचाँदीको मूल्य बढ्याे
  • उपत्यकाकाे आधा दर्जन रुटमा २८ वटा विद्युतीय बसमार्फत रात्री सेवा विस्तार

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama