प्रधानमन्त्री बालेन्द्र शाह साँझ अमेरिका प्रस्थान गर्दैछन् । प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज साँझ अमेरिका प्रस्थान गर्न लागेका हुन् ।
प्रधानमन्त्री शाह साँझ ७ बजे न्यूयोर्कका लागि प्रस्थान गर्ने कार्यक्रम तय भएकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएकाे छ । कार्यालयका अनुसार प्रधानमन्त्री शाहसँगै उनका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेन पनि अमेरिका जाने बताइएकाे छ ।
महासभामा प्रधानमन्त्रीको सहभागिताका लागि आवश्यक तयारी तथा समन्वय गर्न प्रधानमन्त्रीका निजी सचिव सहसचिव प्रदीप परियार, स्वकीय सचिव सुवास शर्मा लगायतका अधिकारी भने यसअघि नै न्यूयोर्क पुगिसकेका छन् ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभा भदौ २३ गतेदेखि न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा सुरु भएको र महासभाको उच्चस्तरीय बैठक असोज ६ गतेदेखि सुरु हुँदैछ । प्रधानमन्त्री शाहले उच्चस्तरीय बैठकलाई सेप्टेम्बर २४ (असोज ८ गते) सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ ।
प्रधानमन्त्री शाहले कार्यभार सम्हालेपछि उनकाे याे पहिलो विदेश भ्रमण हाे । यसअघि कार्यभार सम्हालेको एक वर्षसम्म विदेश भ्रमण नगर्ने तयारीमा रहेका शाह भोटेकोशी बाढीपहिरोपछि संयुक्त राष्ट्रसंघको महासभामा नेपालको धारणा राख्न अमेरिका जान लागेका हुन् ।
गत भदौ १० गते आएको भोटेकोशी बाढी तथा पहिरोले नेपालमा ठूलो जन धनकाे क्षति पुर्याएपछि जलवायु परिवर्तनको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन महासभाको मञ्च उपयोग गर्ने सरकारको तयारी रहेकाे छ ।
प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । परराष्ट्रमन्त्री खनाल भने न्यूयोर्कमै रहेर विभिन्न मुलुकका प्रतिनिधिसँग साइडलाइन वार्ता तथा अन्य कूटनीतिक गतिविधिमा सहभागी हुने बताइएकाे छ ।