‘भ्रामक सूचना फैलाएको’ आरोपमा पक्राउ परेका राजनीतिक विश्लेषक भरतमणि दाहाललाई रिहा गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।
दाहालकी छोरी डेनिकाद्धारा दायर बन्दी प्रत्यक्षीकरण रिटउपर आज न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सुनुवाई गर्दै उक्त परमादेश जारी गरेको हो ।
दाहाललाई थुनामा नै राख्नुपर्ने अवस्था नदेखिएको र अनुसन्धानलाई निरन्तरता दिनुपर्ने भएमा तारिखमा राखी गर्न अदालतको आदेश छ ।
भनिएको छ, ‘निवेदकलाई थुनामा नै राख्नुपर्नेसम्मको अवस्था विद्यमानता रहेको नदेखिएको अवस्थामा अनुसन्धानलाई निरन्तरता दिनुपर्ने भए मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ बमोजिम आजैका मितिबाट निवेदक भरतमणि दाहाललाई तारिखमा राखी अनुसन्धान गर्नू भनी प्रत्यर्थी नेपाल प्रहरी प्रधान कार्यालय, साईबर ब्यूरो भोटाहिटीका नाममा परमादेशको आदेश जारी गरिदिएको छ । सोबमोजिम गरेको जानकारी यस अदालतलाई दिनू ।’
अमेरिकी अनलाइन प्रकाशन ‘द ग्रेजोन’ ले प्रकाशित गरेको विशेष रिपोर्ट सामाजिक सञ्जालमा सेयर गरेको आरोपमा प्रहरीको साइबर ब्युरोले दाहाललाईगत आइतबार मोरङको बेलबारीबाट पक्राउ परेको थियो ।