देशभर परेकाे अविरल वर्षासँगै पृथ्वी राजमार्गमा खसेकाे पहिरोले अवरुद्ध बनेको पृथ्वी राजमार्ग आज दिउँसोदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै थप पहिरो वा अवरोध नआएमा आज दिउँसो १ बजेदेखि सबै प्रकारका सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा आउने जानकारी दिएको हो ।
यहि असोज ७ गते रातिदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खस्नुका साथै सडक भासिएर यातायात सेवा ठप्प भएको थियो । सडकमा थुप्रिएको पहिरो र लेदो हटाउने कार्य निरन्तर भइरहेकाले हालसम्म एकतर्फी रूपमा मात्र सवारी आवागमन सुचारु रहँदै आएकोमा दिउँसोदेखि दुवैतर्फ सञ्चालन गर्ने तयारी रहेकाे छ ।
अहिले वर्षा रोकिएको भए तापनि राजमार्गका जोखिमपूर्ण खण्डहरूमा जुनसुकै समयमा पनि माथिबाट पहिरो झर्न सक्ने सम्भावना कायमै रहेकाले परिस्थितिमा जिल्ला प्रशासन कार्यालयले सम्पूर्ण सवारी चालक, यात्रु तथा सर्वसाधारणलाई उच्च सतर्कता अपनाएर मात्र यात्रा गर्न आग्रह गरेको छ ।
प्रशासन कार्यालयले यात्राका क्रममा लेन अनुशासन र ट्राफिक नियमको पूर्ण रूपमा पालना गर्नसमेत सबैमा अनुरोध गरेको छ ।