महाकाली नदीमा आएको बाढीले दोधारा–चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुल भत्काएकाे छ । कञ्चनपुर जिल्लाको दोधारा–चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे उक्त पुल बाढीका कारण भत्किएको हाे ।
आज बिहान ८ बजे तिरकाे समयमा महाकाली नदीमा आएको बाढीले पुलको एक भाग बगाएको थियाे । नदीको बीच भागमा रहेको पिलर भत्किएपछि त्यससँग जोडिएको पुलको ठूलो हिस्सा नदीमा खसेको बताइएकाे छ ।
प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१३, तर्फबाट छैटौँ नम्बर र दोधारा–चाँदनी गाउँपालिकातर्फबाट तेस्रो नम्बरको पिलर भत्किएको हो। पिलर भत्किएसँगै पुलको संरचनामा क्षति पुगेको छ ।
महाकाली नदीमा पछिल्लो समय आएको बाढीका कारण नदीको बहाव तीव्र बनेको थियो भने बाढीले पुलको पिलरमा निरन्तर दबाब दिएपछि पुलको संरचना भत्किएको हाे ।
अहिले पुल भत्किएपछि दोधारा–चाँदनी र भीमदत्त क्षेत्रबीचको आवतजावत प्रभावित बनेको छ भने घटनापछि सुरक्षाकर्मीले घटनास्थलको निरीक्षण तथा अवस्थाबारे जानकारी संकलन गरिरहेकाे प्रहरीले जनाएकाे छ ।