नेपालबाट यस वर्षको मनसुन बाहिरिने तयारीमा रहेको छ । मौसम विज्ञान विभागका मौसमविदहरूका अनुसार यस वर्षको दशैंसम्ममा मनसुन बाहिरिने सम्भावना देखिएको बताइएकाे छ ।
गत असार ५ गते यस वर्षको मनसुन पूर्वी नेपालबाट भित्रिएको थियो । मौसमविद् बिनु महर्जनका अनुसार अहिले नेपालमा ठूलो वर्षा गराउने उल्लेखनीय प्रणाली छैन । छिमेकी मुलुक भारतका अधिकांश भू-भागबाट मनसुन बाहिरिसकेको छ ।
यता नेपालमा पनि अब पश्चिमी भू-भागबाट मनसुन बाहिरिने तयारीमा रहेकाे देखिन्छ । सामान्यतया नेपालमा मनसुन जुन १३ देखि सुरु भई अक्टोबर २ मा बाहिरने गरेकाे छ भने यो औसत मितिमा कहिलेकाहीँ सामान्य तलमाथि पनि हुने गरेको छ ।
यद्यपि मनसुन बाहिरिए पनि सामान्य खालको वर्षा भने दशैंका बेला पनि हुनसक्ने सम्भावना रहेको मौसमविदहरू बताएका छन् । मौसमविद् विनोद पोखरेलका अनुसार दशैंमा सिमसिमे खालको पानी पर्ने र त्यसले जाडो महसुस हुने सम्भावना रहेको सामाजिक सञ्जालमा लेखेका छन् ।