गएराति काठमाडौँको सुन्दरीजलमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सुन्दरीजलबाट नाम्गेलतर्फ जाँदै गरेको बाप्र ०२०६५ प ९१५७ नम्बरको मोटरसाइकललाई सोही दिशा पछाडिबाट आउँदै गरेको बाप्र ०२०५८ प ७४०५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएकाे हाे ।
काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदी अनुसार एक मोटरसाइकलले अर्काे माेटरसाइकललाइ ठक्कर दिँदा एकजनाको मृत्यु भएको हो । उनका अनुसार बाप्र ०२०५८ प ७४०५ नम्बरको मोटरसाइकलको ठक्करबाट ०२०६५ प ९१५७ नम्बरको मोटरसाइकलमा सवार सुनसरी इटहरी नगरपालिका–७ घर भई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ दोबाटो बस्ने ४५ वर्षीय सन्तोष ढुङ्गानाको मृत्यु भएको बताइएकाे छ ।
दुर्घटनामा गम्भीर घाइते भएका ढुङ्गानाको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा मृत्यु भएको हो । बाप्र ०२ ०५८ प ७४०५ नम्बर मोटरसाइकलका चालक सङ्खुवासभा घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने ५० वर्षीय टीकाराम गुरुङको बायाँ कुम, बाँया खुट्टा र दायाँ हातमा चोट लागेको ट्राफिक प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा ठक्कर दिने बाप्र ०२०५८ प ७४०५ नम्बरका चालक गोकर्णेश्वरका २४ वर्षीय आशबहादुर तामाङले मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएको प्रवक्ता सुवेदीले जनाएका छन् ।