नेपालीहरुकाे दाेश्राे ठूलाे चाड दीपावली पर्व सकिएसँगै कात्तिक शुक्ल चतुर्थी अर्थात आजदेखि छठ पर्व सुरु भएको छ । आजदेखि चार दिन छठ पर्व मनाइन्छ ।
छठ पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधिबाट सुरु हुने छठमा दोस्रो दिन ‘खरना’ गरिन्छ भने तेस्रो दिन व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन् भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न हुन्छ । छठ पर्वमा पुराना मनमुटाव बिर्सेर सबै एकै ठाउँमा भेला भई सूर्यदेवको आराधना गरिने परम्पार समेत रहेकाे छ ।
त्यस्तै छठघाटमा जातीय तथा सामुदायिक विभेद नगरी सबैले एकै लहरमा बसेर पर्व मनाउने परम्परा रहेकाे छ । पर्वको तयारीमा सहभागी हुँदा धार्मिक आस्थाले मानिसलाई विनम्र र सहयोगी बनाउने स्थानीयवासीको विश्वास समेत रहेकाे पाइन्छ ।
सूर्यदेव र षष्ठीदेवीको उपासना गरिने यस पर्वले मङ्गल र कल्याण गर्ने जनविश्वास रहेकाे छ । छठ पर्वको अवसरमा मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ भने चार दिनसम्म मनाइने यस पर्वको तयारीमा स्थानीयवासी जुटेका छन् ।
पर्वको तयारीका लागि स्थानीयवासी नदीकिनार, पोखरी तथा धार्मिक महत्वका जलाशयमा छठघाट निर्माण र सरसफाइमा जुटेका छन् । विशेषगरी युवा छठघाट निर्माण तथा सजावटमा सक्रिय देखिएका छन् ।