आज बिहान मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डमा यात्रुबाहक विद्युतीय (ईभी) गाडी दुर्घटना भएको छ । बिहान पौने ६ बजेतिर काठमाडौंबाट सर्लाही जाँदै गरेको गाडी अनियन्त्रित भइ दुर्घटना भएकाे हाे ।
दुर्घटना परेकाे गाडी सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रारम्भिक जानकारीअनुसार दुर्घटनाग्रस्त गाडीमा चालकसहित १३ देखि १४ जना यात्रु सवार रहेको खुलेको छ ।
उक्त दुर्घटनाको खबर प्राप्त हुनासाथ सुरक्षा निकायको संयुक्त टोली घटनास्थलमा खटिएर उद्धार कार्य शुरू गरेको छ । उद्धारका लागि इलाका प्रहरी कार्यालय भीमफेदीबाट ७ जना, जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट १० जना र बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म थाना भर्याङबाट १० जना प्रहरी परिचालन गरिएको बताइएकाे छ ।
त्यसैगरी, सशस्त्र प्रहरी बल (एपीएफ) बाट १० जना र नेपाली सेनाको ११ जनाको टोली पनि घटनास्थलमा पुगेर उद्धारकार्यमा जुटेका छन् भने गाडी भीरबाट निकै तल खसेका कारण उद्धार कार्य जारी रहेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।