दाङमा पेट्रोल छर्केर आगो लगाइएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । दाङको राजपुर गाउँपालिका–२, का ४९ वर्षीय रुपलाल चौधरीको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
उनकाे नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक साहिल बुढाथोकीले जनाएका छन् । उनको शरीरको ८० प्रतिशतभन्दा बढी भाग जलेको थियो ।
हिजाे शनिबार दिउँसो करिब साढे २ बजे तरकाे समयमा राजपुर गाउँपालिका–२, खालगैरामा सोही ठाउँका ३८ वर्षीय त्रिलोक सिंह कार्कीले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर चौधरीको शरीरमा छर्की आगो लगाएको प्रहरीले जनाएको छ ।
घटनापछि फरार रहेका कार्कीलाई प्रहरीले खोजतलास गर्ने क्रममा लमही नगरपालिका–५, रातोडाँडाबाट नियन्त्रणमा लिएको थियो । आगोले जलेर घाइते भएका चौधरीलाई तत्काल उपचारका लागि लमही अस्पताल पुर्याइएको थियो ।
त्यहाँबाट थप उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल रेफर गरिएको थियो भने घटनामा संलग्न कार्कीलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।