आज बिहान ताप्लेजुङको ओलाङचुङगोला र तिब्बत सीमा क्षेत्र आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । उक्त भूकम्पको धक्का संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका पूर्वी तथा मध्य भागहरूमा महसुस गरिएको थियाे ।
भूकम्प बिहान ७ बजेर १७ मिनेट जाँदा ताप्लेजुङको ओलाङचुङगोलास्थित तिब्बत सीमा क्षेत्र नजिक केन्द्रबिन्दु बनाई गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जानकारी गराएका छन ।
भूकम्पको तीव्रता ५.६ म्याग्निच्युड रहेको र यसको धक्का काठमाडौं उपत्यकासहित पूर्वी र मध्य तराई तथा पहाडी जिल्लाहरूमा स्पष्ट रूपमा महसुस गरिएको बताइएकाे छ । भौगोलिक बनावटका दृष्टिले नेपाल भूकम्पको उच्च जोखिमयुक्त क्षेत्रमा पर्दछ ।
विशेष गरी हिमालय क्षेत्रमा पर्ने भएकाले यहाँ साना तथा मझौला खालका भूकम्पहरू निरन्तर रूपमा गइरहने गर्दछ । भूकम्पविद्हरूका अनुसार लामो समयदेखि पश्चिम नेपालमा ठूलो भूकम्प नगएका कारण त्यहाँ जोखिम अझै उच्च रहेको बताइन्छ ।