पछिल्लाे समय देशकाे विभिन्न जिल्लामा देखिएकाे बर्ड फ्लु संक्रमण नियन्त्रणसँगै अण्डाकाे मूल्य बृद्धि भएकाे छ । नेपाल लेयर्स कुखुरा पालक संघले आजबाट अण्डाको समर्थन मूल्य बढाएको हाे ।
बर्ड फ्लु संक्रमण नियन्त्रणसँगै पोल्ट्रीजन्य उत्पादनको मूल्य बढ्न थालेको हाे । जसअनुसार अण्डा, मासु र चल्लाको मूल्य पूर्ववत् अवस्थामा फर्किन सुरु गरेको छ भने फार्महरूको दररेटलाई आधार मानेर मूल्य बढाइएको हो ।
नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार यसअघिको मूल्यमा प्रतिक्रेट ३० रुपैयाँले वृद्धि गरिएको छ । ठूलो अण्डा प्रतिक्रेट ५०० बाट ५३०, मिडियम ४७० बाट ५०० र सानो अण्डा प्रतिपेटी २ हजार ९०० बाट ३ हजार पुर्याइएको छ भने एक्सेल अण्डा ५१५ बाट ५४५ पुगेको छ ।
अहिले बर्डफ्लु नियन्त्रणमा आएसँगै खपत बढेको र उत्पादनमा कमी आएका कारण अण्डाको समर्थन मूल्य बढाइएको हाे । यसअघि बर्डफ्लुका कारण ठूलो अण्डा प्रतिक्रेट ४५० रुपैयाँमा झरेको थियो । प्रतिक्रेट ५६५ रुपैयाँबाट रोगको सङ्क्रमण देखिएसँगै मूल्य घटेको थियो ।
ण्डै १० लाख लेयर्स कुखुरा बर्डफ्लु र एचनाईनका कारण मरेका छन् भने चैत महिनादेखि असारसम्म दैनिक उत्पादन ४३ लाखबाट घटेर २८ लाखमा झरेको छ । यसलाई हेर्दा दैनिक १५ लाख हाराहारी अण्डा उत्पादन घटेकाले ठूलो नोक्सान भएको हाे ।
कुखुराको मासु र चल्लाको मूल्य पनि बढ्न थालेको छ । ब्रोइलर चल्लाको मूल्य प्रतिगोटा रु. ७० पुगेको छ । रोगका कारण तीन ह्याच नष्ट गरेका उद्योगीले गोटाको रु १५ मा समेत बिक्री गरेका थिए । ह्याचरी उद्योग संघ नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार ब्रोइलर चल्लाको लागत मूल्य प्रतिगोटा ६५ रुपैयाँ हो ।
यस्तै लेयर्स चल्लाको लागत मूल्य प्रतिगोटा १२५ रुपैयाँ हो भने अहिले बजारमा १५० रुपैयाँमा बिक्री हुन थालेको छ । एक सातामा ब्रोइलर चल्ला २८ देखि ३० लाख र लेयर्स चल्ला १ लाख उत्पादन हुने गर्दछ । बर्डफ्लुभन्दा पहिला ब्रोइलर चल्ला साताको ४० देखि ४५ लाखसम्म उत्पादन हुने गरेको थियो ।
रोग सङ्क्रमणका कारण दैनिक नौ लाख किलो बिक्री भइरहेको कुखुराको मासु घटेर दैनिक पाँच लाख किलोमा झरेको थियो । यो बढेर अहिले दैनिक सात लाख किलो पुगेको छ । किसानले ब्रोइलरको जिउँदो कुखुरा प्रतिकिलो रु २६० मा बिक्री गर्दै आएकामा घटेर रु. १५० मा झरेको थियो । अहिले बढेर रु. २१५ पुगेको लामिछानेले जानकारी दिए । रोगका कारण भएको क्षतिको विवरण निकाल्ने काम भइरहेको भन्दै उनले अर्बौँ गुमाउनुपरेको बताए ।
पशु सेवा विभागका अनुसार यही साउन १ गतेयता बर्डफ्लुको सङ्क्रमण देखिएको छैन । पछिल्लो पटक काठमाडौँको गोकणेश्वर–१ सुन्दरी जलमा सङ्क्रमण देखिएको थियो । विभागको तथ्यांकअनुसार चैत ४ गते केन्द्रीय पशु पन्छी रोग अन्वेषण प्रयोगशालामा पिसिआर विधिबाट गरिएको परीक्षणमा रोग पुष्टि भएको थियो ।