काभ्रेपलाञ्चोकको चौरी देउरालीमा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ । ‘कोदोबाली संरक्षण र प्रवर्धन, खाद्य तथा पोषण सुरक्षा संवर्धन’ भन्ने मूल नाराका साथ भव्य रुपमा दिवस मनाइएको हो ।
कार्यक्रममा सहभागी चौरी देउराली गाउँपालिकाका अध्यक्ष रेणु चौलागाईंले कोदो खेतीको संरक्षण, आधुनिकीकरण र बजारीकरणमा गाउँपालिका सधैं किसानसँग काँधमा काँध मिलाएर उभिने प्रतिबद्धता जनाए ।
उनले भने, ‘विदेशी खाद्यान्नमा निर्भर भएर समृद्धि सम्भव छैन । आफ्नै माटो, आफ्नै किसान र आफ्नै उत्पादनको सम्मानबाट मात्र आत्मनिर्भर नेपाल निर्माण हुन्छ ।’

त्यसअवसरमा किसानहरुले पनि ‘कोदो हाम्रो पहिचान’, ‘हाम्रो शक्ति’ र ‘हाम्रो अस्तित्व हो’ भन्दै परम्परागत बाली संरक्षणका लागि एकजुट हुन आह्वान गरे ।
सँगै स्थानीय उत्पादनको सम्मान, किसानको श्रमको कदर र पोषणयुक्त खाद्यको प्रवर्द्धनमार्फत समृद्ध गाउँ र समृद्ध राष्ट्र निर्माण गर्ने दृढ संकल्पसमेत व्यक्त गरियो ।
दिवसले कोदो अन्नमात्र नभई नेपाली किसानको पसिना, पहाडको जीवन, हाम्रो सभ्यता, संस्कृति, आत्मनिर्भरता र भविष्यको आधार भएको सशक्त सन्देश प्रवाह गरेको छ ।