आज संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेकाे छ ।
त्यसैगरि बैठकमा कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन ) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । संसद् सचिवालयका अनुसार कानुनमन्त्री गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको जनाइएको छ ।
त्यसैगरि दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन पेस हुनेछ ।विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले सो प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेकाे छ ।
बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने छन् ।