भाेटेकाेशीमा आएकाे बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिराेले सडक अवरुद्ध भएपछि सडक खुलाउन नयाँ ट्रयाक निर्माणको काम तिब्र पारिएको छ । उक्त अवरुद्ध सडक सञ्चालनमा ल्याउन निर्माण व्यवसायी, सडक विभागका प्राविधिक तथा सुरक्षाकर्मीसहितको टोलीले निरन्तर काम गरिरहेको छन् ।
सडक अवरुद्ध भएपछि विगत १० दिनदेखि नयाँ ट्रयाक खोल्ने काम शुरु भएको निर्माण व्यवसायी महासंघका उपाध्यक्ष तथा शगुन कन्स्ट्रक्सनका सञ्चालक शहदेव खड्काकाले जनाएका छन् । खड्काका अनुसार अहिले ब्याक कटिङ र ग्रेड कटिङको काम अन्तिम चरणमा पुगेको बताइएकाे छ ।
यहि भदौ १४ गते कृष्णभीरमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि माथिल्लो भागबाट नयाँ ट्रयाक खोल्ने काम अघि बढाइएको हो । अहिले ग्रेड कटिङ पूरा भएपछि सबग्रेड र सब–बेस निर्माण गरी ग्राभेलिङ गर्ने तयारी भइरहेको उक्त सडक केही दिनभित्र नयाँ ट्रयाकबाट दुईतर्फी यातायात सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।
अहिले बन्दै गरेकाे नयाँ सडकबाट ग्यास बुलेट, लरी, ठूला ट्रक तथा अन्य हेभी सवारीसाधनसमेत सहज रूपमा सञ्चालन गर्न मिल्ने गरी निर्माण भइरहेको पनि उपाध्यक्ष खड्काकाे भनाइ रहेकाे छ । ‘काठमाडौँको लाइफलाइन’ का रूपमा रहेको पृथ्वी राजमार्गमा यातायात सहज बनाउन रातको समयमा समेत निर्माण कार्यलाई निरन्तरता दिइएको खड्काले बताए ।
अहिले नयाँ ट्रयाकको ग्रेड कटिङ अन्तिम चरणमा पुगेकाले अब सबग्रेड र सब–बेसको काम पूरा गरेपछि यातायात सञ्चालन गर्न सकिनेछ । सडक अवरुद्ध हुँदा काठमाडौँतर्फको यातायात तथा अत्यावश्यक सामग्रीको आपूर्तिमा परेको असरलाई कम गर्न निर्माण कार्यलाई तीव्र पारिएको निर्माण पक्षले जनाएको छ ।