नेपाली हिन्दु महिलाहरुकाे विशेष पर्व हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न आज दर खाने तयारी गरेका छन् । आज दर खाएसँगै शुरु हुने चार दिने तीज पर्व सुरु हुँदैछ ।
नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाइन्छ । यस पर्वमा माइतीले चेलीबेटीलाई बोलाई दर खुवाउने परम्परा समेत रहेकाे छ । दरका रूपमा विशेष गरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ भने जसले व्रतका दिन आडिलो बनाउँछ ।
तीज पर्वमा विशेष गरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाइ दर खुवाउने गर्दछन् । त्यस्तै महिलाहरूले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रूपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन् ।
आइतबार बेलुकी दर खाएपछि औपचारिक रूपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।
विगत वर्षमा नेपालमा मात्र मनाइने तीज पर्व पछिल्लो समय सञ्चारमाध्यमको प्रचारप्रसारका कारण भारतमा पनि मनाउन थालिएको छ । त्यस्तै नेपालमा मात्र बज्ने तीजको गीत भारतीय टेलिभिजन च्यानलमा समेत प्राथमिकताका साथ देखाउन थालिएको छ ।