पहिराेका कारण सडक भासिए पछि अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा नयाँ ट्र्याक निर्माण भएसँगै असोज १ गतेदेखि पूर्ण रूपमा यातायात सञ्चालन गर्ने गरी काम भइरहेकाे छ । उक्त स्थानमा खाेलिएकाे नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेकाले असाेज १ गतेबाट सञ्चालन गर्ने तयारी भएकाे हाे ।
हाल भित्तातर्फको कटिङ तथा सडक सम्याउने काम सम्पन्न गरी केही सवारीसाधन परीक्षणका रूपमा आवतजावत गराइएको थियो भने परीक्षण सफल भएपछि नियमित सवारीसाधन सञ्चालनका गर्न तीव्रता दिइएको छ ।
नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका इञ्जिनियर ईश्वर नेपालले निर्माणको काम अन्तिम चरणमा पुगेको बताएका छन् । उनका अनुसार ग्राभेलिङ, स्लोप कटिङ र नाली निर्माणको काम भइरहेको बताइएकाे छ ।
निर्माणको पहिलो चरणमा ९ देखि १० दिनसम्म ११–१२ उपकरण सहित करिब ४०–५० जना दक्ष तथा अदक्ष मजदुर परिचालन गरि गरिएकाे काम अहिले अन्तिम चरणमा पुगेकाे पनि इञ्जिनियर नेपालले जनाएका छन् ।
अहिले खाेलिएकाे नयाँ ट्याकमा नदीको गेग्रान प्रयोग गरी ग्राभेलिङ भइरहेको छ भने सडकको कुनामा ड्रेन निर्माण गरी पाइप राख्ने र त्यसलाई बेरेर माथि टिक ड्रेन निर्माण गर्ने काम भइरहेको बताइएकाे छ ।
सब–बेसको अन्तिम तह निर्माण भएपछि सडक यातायात सञ्चालनका लागि तयार हुनेछ । करिब ३०० मिटर लामो नयाँ ट्र्याकमा सात मिटर चौडाइको सडक र नालीसहित करिब साढे सात मिटरको संरचना निर्माण गरिएको छ ।
परीक्षणका लागि मात्र केही सवारीसाधन पास गराइएको र अहिले नयाँ ट्याक पूर्णरूपमा बन्द गरि काम भइरहेकाले सर्वसाधारणका लागि नयाँ ट्याक खुला गरिएको भ्रममा नपर्न अनुराेध गरिएकाे छ । थप समस्या नआएमा असोज १ गतेसम्म निर्माणका सबै काम सम्पन्न गरी नयाँ ट्याकबाट नियमित रूपमा सवारीसाधन सञ्चालन गर्ने योजना रहेको बताइएकाे छ ।