आज हिन्दु महिलाहरूले पूजा आराधना गरी ऋषि पञ्चमी पर्व मनाउँदैछन् । भाद्र शुक्ल पञ्चमीका दिन अरुन्धती सहित सप्तऋषिहरू कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठको पूजा आराधना गरी ऋषि पञ्चमी पर्व मनाउन लागेका हुन् ।
महिलाहरू बिहानै नदी, तलाउ, धारा वा अन्य पवित्र जलाशयमा गई स्नान गरि परम्पराअनुसार स्नानअघि शरीर शुद्धिका लागि माटो, कुश तथा दतिवन प्रयोग गर्ने र स्नानपछि स्वच्छ वस्त्र धारण गरी सप्तऋषि तथा अरुन्धतीको पूजा गर्ने प्रचलन रहेकाे छ ।
त्यसपछि कलश वा थालीमा सप्तऋषिको प्रतीक स्थापना गरी जल, अक्षता, फूल, चन्दन, धूप–दीप तथा नैवेद्य अर्पण गर्ने र धार्मिक मान्यताअनुसार ऋषि पञ्चमी व्रत आत्मशुद्धि, संयम र ऋषिहरूप्रति कृतज्ञता व्यक्त गर्ने गरिन्छ ।
पूजा तथा व्रतपछि महिलाहरूले सप्तऋषिको स्मरण गर्दै परिवारको सुख, शान्ति तथा समृद्धिको कामनासमेत गर्ने गरेकाे पाइन्छ ।