सघन शहरी तथा भवन निर्माण योजना शाखा धनकुटाका इन्जिनियर सुमन राईसहित तीन जनाउपर भ्रष्टाचार मुद्दा दायर भएको छ । घुस–रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा उनीसहित लेखा अधिकृत इन्द्रबहादुर कार्की र सबइन्जिनियर रविन श्रेष्ठउपर मुद्दा दर्ता भएको हो ।
गत चैत २३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिएको टोलीले इन्जिनियर राईलाई ललितपुर, लेखा अधिकृत कार्की र श्रेष्ठलाई धनकुटा र भोजपुरबाट पक्राउ गरेको थियो । अख्तियारका अनुसार उनीहरुले सेवाग्राहीलाई दुःख, हैरानी दिई घुस मागेको उजुरी प्राप्त भएको थियो ।
त्यतिबेला ८५ हजार रुपैयाँ घुससहित समातिएका उनीहरुले बैंकको क्युआरमार्फत थप ५० हजार रुपैयाँ घुस बुझेको अनुसन्धानका क्रममा खुलेको अख्तियारको दाबी छ । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम एक लाख ३५ हजार रुपैयाँ बिगो कायम गर्दै उनीहरुलाई कैद र जरिवाना सजाय हुन मागदाबी गरेको छ ।