हिजाे त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बसमा आगलागी हुँदा गम्भीर घाइते भएका बस चालककाे निधन भएकाे छ । काभ्रे घर भएका २५ वर्षीय दावा लामाको उपचारका क्रममा निधन भएको हाे ।
लामाको कीर्तिपुरस्थित बर्न अस्पतालमा सोमबार राति निधन भएको प्रहरी जनाएको छ । अस्पतालका अनुसार आगलागीबाट चालक लामाको शरीरको ९० प्रतिशतभन्दा बढी भाग जलेको थियो भने हिजाे दिउँसाे १ बजे उनलाई उपचारका लागि कीर्तिपुर अस्पताल पुर्याइएको थियो ।
त्रिपुरेश्वर चोकस्थित बस स्टपमा ऋद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा अचानक आगलागी भएको थियो । यात्रुहरू ओर्लिसकेपछि चालक लामा आफैँले बसभित्र आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानकाे निष्कर्ष छ । आगो लगाउनुअघि उनको ट्राफिक प्रहरीसँग भनाभन समेत भएको थियाे ।
घटना बारे सत्यतथ्य पत्ता लगाउन काठमाडौं उपत्यका प्रहरी कार्यालय (रानीपोखरी) ले छानबिन समिति गठन गरेको छ । वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश बस्नेतको संयोजकत्वमा गठित उक्त समितिलाई घटनाको विस्तृत अनुसन्धान गरी ५ दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ भने समितिले ट्राफिक प्रहरीसँग भएको विवाद र आगलागीको मुख्य कारणबारे अनुसन्धान अघि बढाएको बताइएकाे छ ।