सरकारले पोखरामा दसैँ, तिहारलगायतका चाडपर्वलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । उपभोक्तालाई सहुलियत रुपमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हाे ।
साल्ट ट्रेडिङ कर्पोरेसन गण्डकी प्रदेश कार्यालयले असोज १ गतेदेखि पोखराको पृथ्वीचोकस्थित कार्यालय परिसरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । सुपथ मूल्य पसलबाट बजार मूल्यभन्दा सहुलियत दरमा चिनी, नुन, तेल, चामललगायत खाद्य सामग्री बिक्री भइरहेको कार्यालय प्रमुख सागर शेरचनले जानकारी दिएका छन् ।
उक्त सुपथ मूल्य पसल आगामी कात्तिक मसान्तसम्म सञ्चालन हुनेछ । सुपथ मूल्य पसलमा चिनी प्रतिकेजी १ सयमा उपलब्ध गराइएको छ । एक जना उपभोक्ताले अधिकतम ६ केजीसम्म चिनी खरिद गर्न पाउने व्यवस्था गरिएको छ ।
बजारमा चिनी प्रतिकेजी रु. १४० मा बिक्री भइरहेको अवस्थामा सुपथ मूल्य पसलबाट खरिद गर्दा उपभोक्ताले प्रतिकेजी रु. ४० सहुलियत पाउने साल्ट ट्रेडिङले जनाएको छ ।
गण्डकी प्रदेशमा साल्ट ट्रेडिङ कर्पोरेसनका पोखरा र बागलुङमा कार्यालय रहेकाे छ । दुवै कार्यालयबाट उपभोक्ताले सुपथ मूल्यमा दैनिक उपभोग्य सामग्री खरिद गर्न सक्ने बताउँदै साल्ट ट्रेडिङले हरेक वर्ष चाडपर्वका समयमा सुपथ मुल्यका पसल सञ्चालन गरेर सहुलियतमा नागरिकलाई खाद्य सामग्री बिक्री गर्दै आएको छ ।