ताप्लेजुङको दोभान बजारमा भएको आगलागीमा नौ वटा घर जलेर नष्ट भएको छ । आज दिउँसो मेरिङदेन गाउँपालिका–३, दोभान बजारस्थित डङ्डु शेर्पाको घरमा सञ्चालित कपडा पसल तथा होटलबाट शुरु भएको आगलागी फैलिँदा आसपासका नौ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएको हो ।
यस्तै, एउटा घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट मानवीय क्षति भने भएको छैन । आगलागी नियन्त्रणमा लिन फुङलिङ नगरपालिकाका दुई वटा दमकल, प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो । आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।