हिजाे देखिकाे लगातारको वर्षाका कारण देशका विभिन्न राजमार्गहरु अवरुद्ध भएका छन् । वर्षासँगे कान्ति लोकपथका विभिन्न स्थानमा पहिरो खस्दा हेटौँडाबाट उक्त मार्गमा सञ्चालन हुने यातायात सेवा प्रभावित भएको छ ।
कान्ति लोकपथअन्तर्गत ललितपुरतर्फ तीन स्थानमा पहिरो खसेकाले उक्त सडक अवरुद्ध भएको मकवानपुरका प्रहरी प्रमुख श्यामबहादुर खत्रीले जानकारी दिएका छन् । उनले कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानीको सतह सामान्य रहेको जनाएका छन् ।
त्यसैगरि बीपी राजमार्गमा पनि विभिन्न ठाउँमा पहिरो गएको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध–६, चौकीडाँडा, रोशी–७, को चारसयवेशी, रोशी–८, को गिम्दीवेशी र रोशी-११, माम्तीमा पहिरो खस्दा सडक अवरुद्ध भएकाे बताइएकाे छ ।
वर्षाका कारण नारायणगढ–मुग्लिङ सडक खण्डमा खसेको पहिरोका कारण यातायत रोकिएको छ भने पृथ्वीराजमार्ग अन्तर्गत धादिङका विभिन्न स्थानमा पहिरो गएकाले राजमार्गमा सवारी अवरुद्ध भएको प्रहरीले जनाएको छ ।