रौतहटको माधवनारायण नगरपालिकाका सामाजिक परिचालक कृष्णनन्दन प्रसाद यादवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएको छ । नियुक्तिका क्रममा बुझाइएका प्रमाणपत्र नक्कली पुष्टि भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दर्ता गरेको छ ।
अख्तियारका अनुसार यादवले सामाजिक परिचालक पदमा नियुक्ति लिँदाका बखत भारतको पटनास्थित बिहार इन्टरमिडिएट शिक्षा परिषद्बाट जारी गरिएको भनिएको आईए तहको प्रमाणपत्र पेश गरेका थिए । अनुसन्धानका क्रममा उक्त सर्टिफिकेट झुटो प्रमाणित भएको अख्तियारको ठहर छ ।
नक्कली सर्टिफिकेटका आधारमा सरकारी नियुक्ति लिई ओहोदा, लाभ र सुविधा लिएको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनलाई कैद र जरिवाना सजाय हुन मागदाबी गरेको छ ।