केहि दिनदेखिकाे लगातार वर्षापछि देशभरको मौसम क्रमिक रूपमा सुधार हुँदैछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक रुपमा बदली हुनुका साथै केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकाे छ ।
दिउँसो हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थान तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षाकाे सम्भावना रहकाे महाशाखाले जनाएको छ ।
आज राति हिमाली र पहाडी भू–भाग तथा सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली हुनेछ भने बाँकी तराई क्षेत्रकाे मौसम मुख्यतया सफा रहनेछ । हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहे पनि समग्रमा मौसम क्रमिक रूपमा सुधार हुँदै जाने महाशाखाले जनाएको छ ।