नेपाली कांग्रेसको १५ औं महाधिवेशन सरेको छ । यसअघि असोज १६ गतेबाट हुने भनिएको महाधिवेशन दुई दिन पर धकेलिएको हो ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज विज्ञप्ति जारी गर्दै महाधिवेशन उद्घाटन समारोह असोज १८ गते दिउँसो काठमाडौंस्थित खुलामञ्चमा हुने जानकारी गराएका छन् ।
केही दिनअघि भएको भारी वर्षाका कारण प्रतिकूल अवस्था सिर्जना भएको र केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेकोले महाधिवेशन दुई दिन पर धकेलेको कांग्रेसले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘देशमा विभिन्न स्थानमा भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिले गर्दा केही निर्वाचन क्षेत्रहरूमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको जानकारी निर्वाचन समिति र पार्टीका तहगत कार्यसमितिबाट प्राप्त भएको छ । यस परिस्थितिलाई मध्येनजर गरी १५ औं महाधिवेशन उद्घाटन समारोह २०८३ असोज १८ गते २ः०० बजे खुलामञ्चमा हुने व्यहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’