वरिष्ठ कलाकार एवं गीतकार नीर शाह नगदसहित सम्मानित भएका छन् । गीतकार संघ नेपालको १७औँ वार्षिकोत्सवका अवसरमा शाह लाई ‘अमरभावना राष्ट्रिय स्रष्टा सम्मान’ प्रदान गरिएको हाे ।
वरिष्ठ कलाकार शाहले पाँच दशकभन्दा लामो समयदेखि नेपाली कला तथा गीत–संगीत क्षेत्रमा योगदान पुर्याउँदै आएकाले नगद १ लाख ५१ हजारसहित सम्मानपत्र, माला र दोसल्लाले सम्मान गरिएको थियाे ।
शाहका ‘बादल बनाई देऊ आकार बदल्न सकुँ’, ‘गहिराइमा डुब्दै नडुब’, ‘पर्खी बसेँ आउला भनी’, ‘कहिलेकाहीँ हाँस्छु धेरै नै हाँस्छु’, ‘तिमीसँग डुङ्गामा घुम्दा घुम्दै फेवाताल’, ‘खुल्दैन ताल्चा त्यो ढोकाको’, ‘हिउँभन्दा चिसो, आगोभन्दा तातो’, ‘आँखैमा कसैको तस्बिर’, ‘अर्को जुनी चाहिँदैन मलाई’, ‘प्यारी वसन्ती’ र ‘पसिनाको जलैले’ लगायतका गीत चर्चित रहेका छन् ।
त्यसैगरी यस वर्षको ‘डायस्पोरा गीतकार सम्मान’ गीतकार नीलम आङ्बुहाङ राईलाई नगद १५ हजारसहित सम्मान गरिएको थियाे । विदेशमा रहेर पनि नेपाली गीत लेखनमा सक्रिय राईका ‘पुरानो हुँदैन माया’ र ‘पानी मिठो मेरो हजुर इलाम बजारको’ लगायतका गीत चर्चित रहेका छन् ।
कार्यक्रममा ‘विष्णु मन्सरा घले मातृभाषा गीतकार सम्मान’ लोहोरुङ राई भाषाका स्रष्टा नइन्द्र लोहोरुङ राईलाई नगद २५ हजार २५२ रुपैयाँ सहित सम्मान गरिएको थियाे । त्यसैगरि ‘हरिभक्त बुढाथोकी प्रतिभा गीतकार सम्मान–२०८२’ बाट गीतकार सुशीला पौडेल र अरुण तिवारीलाई जनही १५ हजारसहित सम्मान गरिएको थियाे ।