लामो समयदेखि बर्दिया र कैलालीका उखु किसानले पाउन बाँकी रहेको भुक्तानी अब केही दिनभित्रै निकासा हुने भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले प्राविधिक प्रक्रिया पूरा गरेर यथाशिघ्र किसानको खातामा रकम पठाउने तयारी गरेको जनाएको हो ।
आज बसेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले किसानको भुक्तानीका लागि मन्त्रालयले उच्च प्राथमिकता दिएको बताएका छन् । उनले भुक्तानीमा भएको ढिलाइप्रति किसानको गुनासो जायज भएको स्वीकार गर्दै प्रशासनिक र प्राविधिक प्रक्रियाका कारण असारमै हुनुपर्ने भुक्तानीमा ढिलाइ हुन पुगेको स्पष्ट पारेका छन् ।
उनले भुक्तानी प्रक्रियालाई सकेसम्म दशैँअघि नै सम्पन्न गर्ने प्रयास भइरहेको बताउँदै सबै कुरा आफूमा मात्र निर्भर नरहेकाले केही जटिलता रहेको संकेत गरेका थिए । यता उखु किसानले लामो समयदेखि बक्यौता रकमका लागि पटक–पटक ताकेता गर्दै आएका छन् ।
यसअघि मन्त्रालयले भुक्तानीका लागि निर्णय गरिसकेको भएपनि कार्यान्वयन पक्षमा देखिएको सुस्तताका कारण किसान मारमा परेकाे बताउँदै सचिव मिश्रले किसानलाई ढुक्क रहन आग्रह गर्दै मन्त्रालयले निरन्तर फलोअप गरिरहेको जानकारी दिएका छन् ।
लामाे समयदेखि सरकारी अधिकारीहरूले भुक्तानी प्रक्रियामा ढिलाइ नहुने आश्वासन पटक–पटक दिँदै आए पनि फिल्ड तहमा किसानले सास्ती खेप्नुपर्ने अवस्था कायमै रहेकाे छ । अब मन्त्रालयले भनेजस्तै एक–दुई दिनभित्र भुक्तानी हुन्छ कि हुँदैन भन्नेकुराले किसानको आगामी दशैँको रौनक निर्भर गर्ने बताइएकाे छ ।