हाल मुलुकमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभावसँगै हल्का वर्षा र हिमपातकाे सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कर्णाली, सुदूरपश्चिम तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेकाे बताइएकाे छ । त्यसैगरि कोशी, मधेस र बागमतीका सबै भू-भाग तथा गण्डकी र लुम्बिनीका बाँकी क्षेत्रमा भने मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
अहिले हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने लुम्बिनीको तराई क्षेत्रमा पनि आंशिक बदली भइ अन्य तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशीका केही स्थान तथा बागमती र लुम्बिनीका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज देशका विभिन्न भू-भागमा बदलीसँगै वर्षा र हिमपातको हुनुका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनीसहित कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्र तथा तराई भू-भागमा भने आंशिक बदली हुने अनुमान गरिएकाे छ ।
त्यसैगरि कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा र हिमपात हुनसक्ने सम्भावना छ भने कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात तथा पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएको छ ।
मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भू-भागका एक-दुई स्थानमा पनि मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।