कात्तिक महिनामा सरकारी कार्यालय, बैंक तथा सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरू १२ दिनमात्र खुल्ने भएका छन् । कात्तिकमा दसैं–तिहारका पर्व बिदा र साप्ताहिक बिदा एकैपटक परेपछि ३० दिनको कात्तिकमा १८ दिन कार्यालय बन्द रहने र १२ दिनमात्र कार्यालय खुल्ने भएकाे हाे ।
यसअघि लगातार ९ दिनको सार्वजनिक बिदापछि सोमबारदेखि सरकारी कार्यालय, बैंक तथा अन्य सार्वजनिक सरोकारका निकाय खुलेका छन् । कार्यालय सञ्चालन नियमित हुन भने अझै केही समय लाग्नेछ भने यो साताको शुक्रबारसम्म कार्यालय खुलेपछि त्यसपछिको शनिबार र आइतबार फेरि बन्द रहनेछ ।
कात्तिक १५ गतेदेखि २० गतेसम्म कार्यालय खुल्नेछ र त्यसपछि पाँच दिन कार्यालय सञ्चालनमा आएलगत्तै छ दिन बिदा पर्नेछ । तिहारपछि कात्तिक २७ गते शुक्रबार र ३० गते सोमबारमात्र कार्यालय खुल्ने छ ।
यस वर्ष दसैंअघि लगातार नौ दिन सार्वजनिक बिदा परेको थियो । यस अवधिमा चार दिन साप्ताहिक बिदा र पाँच दिन पर्व बिदा परेकाे थियाे । यसअघि २०८१ सालमा दसैंअघि लगातार पाँच दिन र २०८२ सालमा छ दिन सार्वजनिक बिदा परेको थियो ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार आएपछि २०८२ चैत २३ देखि शनिबारसँगै आइतबार पनि साप्ताहिक सार्वजनिक बिदा दिने व्यवस्था लागू गरिएको थियो । उक्त व्यवस्थालाई सरकारले तत्काल पुनर्विचार नगर्ने स्पष्ट पारेको छ ।
शनिबार र आइतबारको नियमित बिदासँगै पर्व तथा दिवसका बिदा पनि यथावत् राखिँदा वर्षभरि कार्यालय खुल्ने दिन घटेका छन् ।