हरिबोधिनी एकादशी हिन्दु धर्मावलम्बीले कार्तिक शुक्ल एकादशीका दिन मनाउने विशेष पर्व हो । यसलाई प्रबोधिनी वा देवोत्थान एकादशीसमेत भनिन्छ ।
विभिन्न २४ वटा एकादशीमध्ये हरिबोधिनी अन्तिम र सबैभन्दा ठूलो एकादशी भएकाले यसलाई ‘ठूली एकादशी’ समेत भनिन्छ । आज उपत्यकाका चार प्रमुख नारायण मन्दिर चाँगुनारायण, इचङ्गुनारायण, विशङ्खुनारायण र शेषनारायणसहित देशभरका भगवान विष्णुका मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
त्यस्तै आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा–आराधना गरिन्छ । यसपछि आज शास्त्रीय विधिअनुसार दामोदरसँग तुलसीको विवाह गरिदिने प्रचलनसमेत रहेको छ ।
आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीर सागरमा शयन गरेका भगवान विष्णु चार महिनापछि अर्थात् आजकै दिन ब्युँझन्छन् भन्ने धार्मिक विश्वास समेत रहिआएको छ ।