सरकारले १३ देखि १५ वर्षसम्मका बालबालिकालाई निश्चित शर्तमा हलुका काम गर्न दिने प्रश्ताव गरेकाे छ । सरकारकाे युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले मुलुकको आर्थिक, सामाजिक र बालबालिकाको पारिवारिक अवस्थालाई मध्यनजर गर्दै उक्त प्रश्ताव गरिएको बताएका छन् ।
अाज सिंहदरबारमा बसेको प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयकमाथिको सैद्धान्तिक बोल्दै मन्त्री यादवले यस्तो बताएका हुन् । उनले अहिले नेपालमा ११ लाख बालबालिका श्रममा रहेको तथ्यांक उल्लेख गर्दै ती बालबालिकालाई श्रमबाट बाहिर निकाल्ने उद्देश्यले नै विधेयक ल्याइएको दाबी समेत गरेका छन् ।
उनले बालबालिकालाई विद्यालयबाट निकालेर श्रममा लगाउने सरकारको उद्देश्य नभएको स्पष्ट पार्दै बालबालिकाको पारिवारिक आर्थिक अवस्था तथा अभिभावकविहीन बालबालिकाको संरक्षण क्षमाता राज्यसँग छ कि छैन भन्नेकुरा मुख्य भएको बताएका छन् ।
त्यसैगरि मन्त्री यादवले बालश्रम पूर्ण रूपमा निषेध गर्ने कानुन बनाउनुपर्ने भएपनि वर्तमान परिस्थितिमा त्यसले मात्रै समस्या समाधान नहुने बताए । सोही कुरालाई मध्यनजर गर्दै सरकारले १३ देखि १५ वर्षसम्मका बालबालिकालाई निश्चित सर्तसहित हलुका काममा मात्र संलग्न गराउने प्रस्ताव गरिएको उनले बताए ।
उनले बालबालिकालाई श्रममा लगाउनुअघि बालबालिकाले शिक्षा, स्वास्थ्यलगायत आधारभूत अधिकार प्राप्त गरेका छन् वा छैनन् भन्ने सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । प्रश्तावित विधेयकमा बालश्रम निषेध तथा नियमनसँगै बालबालिकाको उद्धार, पुनःस्थापना र पुनःएकीकरणसम्बन्धी व्यवस्था समेत समेटिएको उनको भनाइ रहेकाे छ ।