झापाकाे झण्डै छ दशक पुरानो कारागारमा कारागार क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी रहेका छन् । उक्त कारागारमा पुरानो भवन र साँघुरो कोठाका कारण कैदीबन्दी सकसमा बस्न बाध्य छन् ।
हाल कारागारमा कैदी र थुनुवा गरी कुल १ हजार ७१० जना रहेकाे कारागार प्रमुख पूर्णबहादुर खत्रीले जनाएका छन् । जसमध्ये ९२९ जना कैदी र ७८१ जना थुनुवा रहेका छन् । लैङ्गिक आधारमा १ हजार ६२६ जना पुरुष र ८४ जना महिला छन् ।
प्रमुख खत्रीले कारागारमा ६५ वर्षमाथिका २४ ज्येष्ठ नागरिक, एक गर्भवती र एक आश्रित नाबालक रहेको जानकारी दिएका छन् । महिला र पुरुषका लागि छुट्टाछुट्टै भवनको व्यवस्था छ । कारागारमा १९ जोडी विवाहित कैदीबन्दीसमेत छन् ।
राष्ट्रियताका आधारमा १२२ जना भारतीय र २९ जना भुटानी नागरिकले कैद तथा थुनुवा जीवन बिताइरहेको कारागार प्रशासनले जनाएको छ ।