काठमाण्डू, संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।
यसअघि पटक–पटक स्थगित हुँदै आएको बैठकलाई आज नियमित प्रक्रियाअनुसार सञ्चालन गर्ने प्रयास गरिँदैछ ।
संसद सचिवालयका अनुसार आजको बैठकमा अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात, र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची छ ।
साथै, ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित टेबल गरिनेछ ।
त्यसैगरी, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले जलस्रोत विधेयक सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा तथा उर्जा दक्षता विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको छ ।
बैठक सुचारु हुनेमा अन्योल कायमै छ । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध गर्दै विपक्षी दलले लगातार संसद अवरुद्ध गर्दै आएका छन् ।
विपक्षीले प्रधानमन्त्री केपी ओलीले संसदमा आएर घिसिङ हटाउने निर्णयको कारण स्पष्ट पार्नुपर्ने अडान राखेका छन् ।
तर, प्रधानमन्त्री ओलीले सरकारको निर्णयबारे संसदमा जवाफ दिनु अनुचित भएको बताएका छन् ।
यसै विषयमा सत्ता पक्ष र प्रतिपक्षबीच टकराब जारी रहेको छ, जसका कारण दुई दिनदेखि संसद सञ्चालन हुन सकेको छैन् ।
सभामुख देवराज घिमिरेले सबै दलका प्रमुख सचेतकहरूसँग छलफल गरे पनि समाधान निस्कन सकेको छैन् । आजको बैठक पनि यसै विवादका कारण अवरुद्ध हुने सम्भावना छ ।