काठमाण्डू, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाका लागि दोस्रो पटक माग गरेका छन्।
सभापति लामिछानेसहित सांसदहरूले रविको सांसद पद फुकुवाका लागि सभामुख घिमिरेलाई दोस्रो पटक भेटेका हुन्।
गत कात्तिक २ गते सभापति लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा पक्राउ परेका थिए।
सोही अभियोगमा मुद्दा दर्ता भएपछि गत पुस ८ गते उनको सांसद पद निलम्बन भएको थियो।
यसअघि माघ १८ गते रवि लामिछानेले आफ्नो सांसद पद निलम्बनको निर्णय फिर्ता लिन माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन गरेका थिए।
सिंहदवारमा भएको भेटमा उनले आफूलाई निलम्बन गर्ने प्रक्रिया नमिलेको भन्दै फुकुवाको माग गरेका थिए।
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ बमोजिम आफूलाई गरिएको निलम्बन कानुनसम्मत नभएको रविको जिकिर छ।
जवाफमा सभामुख घिमिरेले आफूले विद्यमान कानुन, संसद नियमावली र अभ्यास बमोजिम निलम्बनको निर्णय गरेको बताएका थिए।
‘कसैको दबाब, प्रभाव, पूर्वाग्रह र पक्षधरताका आधारमा होइन। हिजो यस पदमा अरु कोही थियो। आज म छु।
भोलि अरु कोही हुन सक्छ। तर पदमा रहँदा कानूनको परिपालना गर्नु मेरो दायित्व हो,’ घिमिरेले लामिछानेलाई भनेका थिए, तपाईंहरूले निवेदन दिनुभएको छ।
यो छलफल र परामर्शको विषय हो। आजलाई समय भएन। हामी संसद सुरु हुने अन्तिम समयमा छौँ।’
कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद पुस ७ गतेदेखि स्वतस् निलम्बनमा परेको थियो।
त्यसको सूचना संसद सचिवालयले पुस ८ गते प्रकाशित गरेको थियो।
सहकारी ठगी मुद्दा लागेपछि सभापछि लामिछाने पार्टी राजनीतिमा निष्क्रिय बनेका थिए। सोमबारदेखि उनी पार्टी नेतृत्वमा फर्किएका छन्।