काठमाण्डू, पार्टीको आगामी रणनीति र संगठन सुदृढीकरणका विषयमा छलफल गर्न सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी एवम् पूर्वपधाधिकारी बैठकले आजदेखि बस्न लागेको केन्द्रीय कार्यसमितिको बैठकको ‘एजेण्डा’ तय गरिसकेको छ ।
कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले बैठकमा गठबन्धन सरकारको काम, भ्रातृ संस्थाको अवस्था र पार्टीको सक्रिय सदस्यता वितरण, नवीकरण लगायतका विषयमा छलफल हुने जानकारी दिए ।
यस्तै, बैठकमा संघीय र प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले आ–आफ्नो क्षेत्रको काम कारबाहीबारे केन्द्रीय कार्यसमितिलाई जानकारी गराउने बताइएको छ ।
गठबन्धन सरकारको प्रभावकारिता र भावी रणनीतिबारे पनि छलफल हुने प्रवक्ता डा. महतले जानकारी दिए ।
बैठकले तोकिएको समयमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाको तदर्थ समितिको म्याद थप गर्ने वा नगर्ने विषयमा निर्णय लिने उनले बताए ।
यस्तै, महामन्त्रीले पार्टीको सक्रिय सदस्यता वितरणको प्रगतिबारे बैठकमा जानकारी गराउने कार्यक्रमसमेत रहेको छ ।
प्रवक्ता डा.महतले आजदेखि सुरु हुने बैठकले नेपाली कांग्रेसको आगामी रणनीति र सङ्गठन सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
गठबन्धन सरकारको कार्यप्रगति र भ्रातृ संस्थाको व्यवस्थापनले पार्टीको आन्तरिक एकता र बाह्य प्रभावकारितालाई थप मजबुत बनाउने अपेक्षा कांग्रेसले लिएको छ ।