काठमाण्डू, हिन्दू धर्ममा अत्यन्तै पवित्र मानिने श्रावण महिनाको सुरुवातसँगै काठमाडौं उपत्यकाका चुरापोते पसलहरूमा महिलाहरूको भीड लाग्न थालेको छ ।
विशेषगरी इन्द्रचोकमा रहेको पोते पसल र नयाँ सडक, असन र विशाल बजार क्षेत्रमा चुरा, पोते र मेहेन्दी लगाउने महिलाहरूको भीड देख्न सकिन्छ ।
श्रावणलाई भगवान् शिवको प्रिय महिना मानिन्छ । यस महिनाभर व्रत बस्ने, शिवको आराधना गर्ने र महिलाहरूले सौन्दर्य र सृंगारमा हरियो रंगको बढी प्रयोग गर्ने गर्दछन् ।
विवाहित महिलाहरूले हरियो पोते, रंगीचंगी चुरा र गाढा मेहेन्दी लगाउने चलन छ । धार्मिक विश्वासअनुसार हरियो पोते र चुरा लगाउँदा श्रीमान्को दीर्घायु हुने र मेहेन्दी गाढा भए पतिको प्रेम झन् प्रगाढ हुने जनविश्वास पाइन्छ ।