मटिहानी, प्रधानमन्त्री केपी ओलीले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ८ को बिग्ही नदीमा निर्माण गरिएको पुलको उद्घाटन गरेका छन् ।
शुक्रबार दिउँसो साढे १२ बजे महोत्तरीको मटिहानी आएका प्रधानमन्त्री ओलीले बिग्ही नदीमा निर्माण गरिएको पुलको शिला अनावरण तथा रिबन काटेर पुलको उद्घाटन गरेका हुन् ।
मटिहानीलाई जनकपुरसँग जोड्ने सडकको रुपमा रहेको सो पुल निर्माणले सीमावर्ती भारतीय क्षेत्रबाट जनकपुर जाने सानो मार्ग बनाएको छ ।

उद्घाटनको अवसरमा महोत्तरी क्षेत्र नं.३ का प्रतिनिधिसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर, श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारी, मधेश प्रदेशका प्रदेश प्रमुख सावित्री भण्डारी, मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलगायतको उपस्थिति थियो ।
कालिका कन्सट्रक्सन प्रा.लि.भरतपुर चितवनले ७ करोड ५७ लाख ८० हजार २८३ रुपियाँमा निर्माण गरिएको सो पुल ५० मिटरको छ ।
बिग्ही पुलमा यो भन्दा अगाडि रहेको पुल सानो तथा साँघुरो रहेकोले आवतजावतमा समस्या हुँदै आएको थियो ।
काठमाडौंबाट हेलिकप्टरमा आएका प्रधानमन्त्री ओलीले मटिहानीको जलसागरबाट सिधै पुलको उद्घाटनपश्चात् पुलको निरीक्षण गरेका थिए ।