काठमाण्डू, प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले विद्यादेवी भण्डारीलाई दोस्रो पटक राष्ट्रपति बनाउन आफूले नै जोड दिएको बताएका छन् ।
पुनस् राजनीतिमा फर्किन नमिल्ने भएको हुनाले विद्यालाई दोस्रो पटक राष्ट्रपति बनाउन जोड दिएको ओलीले बताए ।
कर्णालीका नेताहरूसँको भेटमा माधव नेपाल र झलनाथ खनाललाई गरिएको प्रस्ताव अस्वीकार गर्नुको कारण नै ‘विद्या पछि राजनीतिमा फर्किन पाइँदैन भनेर’ भएको ओलीले बताए ।
शनिबार रातिको भेटमा सहभागी एक केन्द्रीय नेताका अनुसार ओलीले विद्याको ‘क्याम्पेनियर’ आफू रहेको हुँदा झलनाथ खनालको रहर हुँदा हुँदै दोस्रो कार्यकालका लागि पनि भण्डारीलाई नै राष्ट्रपति बनाइएको बताएका छन् ।
नेताहरूसँग लामो कुरा गर्दै ओलीले गत ३ असारमा भण्डारीसँग बालुवाटारमा भएको संवाद सुनाएका थिए ।
जुनबेला भण्डारी कोशी प्रदेशको एक साता लामो भ्रमण सकेर फर्किएकी थिइन् ।
उनले २७ जेठमा विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफू हिँडडुल गर्न कसैसँग सोध्न आवश्यक नरहेको तर्क गरेकी थिइन् ।
उक्त भेटमा भण्डारीले ओलीलाई ‘पार्टीको नेतृत्व छाड्नुस् र मलाई अध्यक्ष बनाउनुस्’ भनेकी थिइन् ।
ती नेताका अनुसार आक्रोशित भावमा ओलीले ठाडै अस्वीकार गरेको र नेतृत्व सहजै झिकेको ठाउँबाट दिने चिज नभई सर्वमान्य हुनुपर्ने तर्क गरेका थिए ।
त्यो भेटमा ओलीले भण्डारीलाई भनेका थिए, ‘आफूले संकटको अवस्थाबाट एमालेलाई जोगाएको हुँदा तपाईं आउँदा अरू धेरै सिनियर पार्टीमै रहेकोले सजिलै मान्दैनन् भनेका थिए ।’
ओलीले विद्यालाई ‘कसले उकासेको छ’ भनेर समेत सोधका थिए । उनले विद्याको राजनीति योगदानको बारेमासमेत सतही टिप्पणी गरेका थिए ।
बैठकमा सहभागी नेताका अनुसार ओलीले विद्याबारे भनेका थिए, ‘विद्याजीले पञ्चायतकालमा अलिअलि त्यो अखिलको राजनीति त गर्नुभएको थियो नि । पछि त खाएकोखाई हुनुहुन्छ त ।
कसरी अन्याय भयो ? ’ कर्णाली प्रदेशका २२ केन्द्रीय सदस्य बैठकमा सहभागी थिए ।