काठमाण्डू, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न चाहेको स्पष्ट गरेका छन् ।
सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित समारोहमा ‘पर्यटननीति २०८२’ सार्वजनिक गर्दै मन्त्री पाण्डेले निजी क्षेत्र आत्मविश्वासका साथ अघि बढ्नुस्, सरकार समन्वयका लागि तयार रहेको जानकारी गराए ।
“ निजी क्षेत्र अघि बढेपछि मात्र सकारात्मक परिणाम हासिल गर्न सकिन्छ। हामी निजी क्षेत्रसँग मिलेर काम गर्न चाहन्छौं।” मन्त्री पाण्डेले भने ।
मन्त्री पाण्डेले संविधानसभामार्फत २०७२ सालमा जारी भएको नयाँ संविधानसँगै सङ्घीयता कार्यान्वयन गर्न मन्त्रालय नीतिगत रूपमा अघि बढेको जानकारी दिए ।

संस्कृति नीति र हवाई नीति हाल मन्त्रिपरिषद्को विधेयक शाखामा छलफलको चरणमा रहेको र मन्त्रालयमार्फत १३ वटा विधेयकहरूसमेत अघि बढिसकेको मन्त्री पाण्डेले उल्लेख गरे ।
मन्त्री पाण्डेले २०६५ सालको पर्यटन नीतिलाई प्रतिस्थापन गर्दै तयार पारिएको नयाँ ‘पर्यटन नीति २०८२’ मा ‘अद्वितीय पर्यटकीय गन्तव्य स् नेपाल’ भन्ने शब्दावली नीति संरचनाकै दृष्टिकोणको रूपमा समावेश गरिएको पनि बताए ।
उनले भने , “नेपाललाई ‘आकर्षक जीवनपर्यन्त अनुभव, सुरक्षित, भरपर्दो र दिगो गन्तव्य’ का रूपमा विकास गर्न पर्यटन नीति ल्याइएको हो। यसले मुलुकको राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक टेवा पुर्याउनेछ।”