Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, असार १२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आन्तरिक चुनौतीले निकट बन्दै दाहाल/नेपाल, एकताबारे दोस्रो पंक्तिकै अविश्वास

- shuvadmin / बुधबार, साउन १५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एकताको चर्चा र प्रयत्न तीन वर्षयता हुँदै आएको छ ।

तीन वर्षअघि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एकतामा अग्रसरता देखाएका थिए ।

यसपटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अग्रसर छन् । दाहाल/नेपाल एकता वार्ताको कारण एकै छ( पार्टीभित्र सिर्जित आन्तरिक चुनौती ।

उनीहरूको वार्ताले परिणाम दिनेमा भने दोस्रो पंक्तिकै नेताहरू विश्वस्त छैनन् ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग एकता प्रस्ताव गरेको दुवै दलका नेताहरू बताउँछन् ।

माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले अध्यक्ष दाहालले एकता प्रस्ताव राखेको बताए । 

अध्यक्षले एकीकृत समाजवादीलाई एकताको प्रस्ताव राख्नुभएको छ । नेकपाकालदेखि नै नेताद्वयबीच सहकार्य भएकाले फेरि एकतामार्फत सहकार्य गरौँ भन्ने उहाँको प्रस्ताव हो,’ गजुरेलले भने ।

एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वाला पनि दाहालले आफ्ना अध्यक्ष नेपालसामु एकता प्रस्ताव राखेको बताउँछन् । ‘माओवादी केन्द्रका अध्यक्ष दाहालबाट एकताको प्रस्ताव आएको छ,’ उनले भने ।

मंगलबार बसेको समाजवादी मोर्चाको बैठकमा पनि दाहाल/नेपालले एकताको प्रसंग उप्काएका छन् ।

उनीहरू दुवैले समाजवादी मोर्चामा रहेका घटकहरूबीच एकताकै उद्देश्य रहेको उल्लेख गरेका छन् । ‘

सन्दर्भवस दुवै नेताहरूले समाजवादी मोर्चामा आवद्ध दल एकताकै उद्देश्यसहित बनेको बुझेका छौँ भन्नुभएको छ ।

एकताको औपचारिक प्रस्ताव वा तयारीबारे कुनै छलफल भएन,’ बैठकमा सहभागी माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने ।

तीन वर्षअघि २०७९ भदौ १ मा एकीकृत समाजवादीले माओवादीसँग एकताका लागि संयोजन समिति गठनकै निर्णय लिएको थियो ।

२०७९ पुस २१ गते एकीकृत समाजवादीले समितिलाई पूर्णता दियो । नेता वेदुराम भुषाल, गंगालाल तुलाधर र विजय पौडेललाई समावेश गराउँदै संयोजन समितिलाई पूर्णता दियो ।

त्यसको दुई दिनपछि पुस २३ मा माओवादी केन्द्रले पनि एकता कार्यदल गठन गर्‍यो ।

माओवादी केन्द्रले नेता कृष्णबहादुर महराको संयोजकत्वमा देव गुरूङ, जनार्दन शर्मा, शक्ति बस्नेत र गिरिराजमणि पोखरेलेसहितको कार्यदल बनाएको थियो ।

एकताका लागि कार्यदल नै बनाएर अघि बढेका दुई दलले उक्त लक्ष्यलाई तीनवर्षसम्म पनि हासिल गर्न सकेनन् ।

अहिले दाहाल/नेपालबीचमात्रै एकता वार्ता चलेको हो । यस विषयमा दुवै दलको कमिटीमा छलफल भने भएको छैन ।

तीन वर्षपछि फेरि एकता वार्ता चल्नुमा उनीहरू दुवैले सामना गरिरहनुपरेको आन्तरिक चुनौती प्रमुख कारण रहेको राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेल बताउँछन् ।

‘यी नेताहरूको शैली ढाँटको निम्ता खाई पत्याउनु भन्ने उक्तिसँग मिल्छ । एकता गर्ने भए तीन वर्षअघि नै गरिहाल्थे नि ।

अहिले दुवै नेतालाई आन्तरिक चुनौती छ त्यसैले विषयान्तरका लागि उनीहरूले यो कुरा उप्काएका छन्,’ उनले भने ।

माओवादी र एस दुवैमा विशेष महाधिवेशनको माग

माओवादी केन्द्रका अध्यक्ष दाहाललाई उपमहासचिव जनार्दन शर्मा प्रभाकरले पार्टीमा आन्तरिक लोकतन्त्रको प्रश्न उठाउँदै चुनौती दिइरहेका छन् ।

साउन ७ गतेको कार्यक्रममा उनले नेपालका कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारी बाहेक सबै भ्रष्ट रहेको बताए ।

पार्टीमा जनवादी केन्द्रीयता समाप्त भएको र नोकरशाही प्रवृत्ति हाबी भएको अभिव्यक्ति उनले दिए । ‘

मैले व्यक्ति विशेषलाई दोष लगाएको होइन, कम्युनिस्ट पार्टी सामन्तीको झुण्ड बन्न पुगे । हामीले पार्टीमा जनवादी केन्द्रीयताको कुरा गरेका छौँ ।

जनवाद समाप्त भयो र केन्द्रियता नोकरशाहीमा बदलियो,’ उनले भने ।

नेता प्रभाकरले सार्वजनिक रूपमा मात्रै नभएर पार्टी बैठकमै पनि फरक मत राखेर दाहाललाई चुनौती दिइरहेका छन् ।

मंगलबार उनले अपिल जारी गर्दै विशेष महाधिवेशनबाट पार्टी पुनर्गठनको प्रस्ताव पनि गरेका छन् ।

‘विशेष महाधिवेशन गर्ने निर्णय गरेको सन्दर्भमा अब पार्टीमा एजेन्डाकेन्द्रित बहस गरौँ । जसले पार्टीको पुनर्गठन, सुदृढ र व्यवस्थित गर्न मद्दत पुग्नेछ,’ उनको अपिल छ ।

उनले पार्टीको माथिल्लो तहबाटै पार्टी फुटको भ्रम सिर्जना भइरहेकाले त्यसमा विश्वस्वत नहुन पनि आग्रह गरेका छन् ।

शर्माको अभिव्यक्ति र शैली पार्टी नेतृत्वलाई कमजोर बनाउने उद्देश्यले प्रेरित रहेको भन्दै आलोचना बढेको छ ।

उनले नेतृत्वलाई कमजोर बनाउन छुट्टै गुट सिर्जना गरी गतिविधि बढाएकाले यस विषयमा पार्टीमा छलफल नै हुनुपर्ने माग नेताहरूले गरेका छन् ।

‘आवेग र उत्तेजनामा आएर नेतृत्वप्रति व्यक्तिगत लाञ्छना लगाउनेकुरा स्वीकार हुँदैन ।

यस्ता प्रवृत्तिबारे स्थायी कमिटी बैठकमा छलफल गरेर पार्टीले आवश्यक निर्णय गर्नेछ,’ उपमहासचिव वर्षमान पुनले भने ।

यता, पतञ्जलि प्रकरणमा पार्टी अध्यक्ष नेपालले भ्रष्टाचारको मुद्दा खेपेसँगै एकीकृत समाजवादीमा पनि विशेष महाधिवेशनमार्फत नेतृत्व चयनको माग भइरहेको छ ।

असार २७ गते काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले पतञ्जलि प्रकरणका कारण पार्टीले विदा गर्न चाहेमा आफू नेतृत्वमा नरहने बताएका थिए ।

यसअघि पनि नेकपाको आन्तरिक द्वन्द्वका बखत दाहाल/नेपालबीच सहकार्य भएको थियो । उनीहरूले कार्यगत एकता गरेरै संसद विघटनविरूद्ध आन्दोलन चलाएका थिए ।

२०७७ पुस ५ गते प्रधानमन्त्री केपी ओलीले पहिलोपटक संसद् विघटन गरेपछि प्रचण्ड(माधवले सडक आन्दोलन चर्काएका थिए ।

२०७८ फागुन २३ गते सर्वोच्च अदालतले नेकपा खारेज गरिदियो । सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतियो ।

माधव नेपालले एमाले विभाजन गरेर २०७८ भदौ २ मा एकीकृत समाजवादी गठन गरे । २०७९ को संसदीय चुनावमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको गठबन्धन भयो ।

उक्त चुनावमा माओवादी ३२ सिटमा सीमित भयो । १० सिट जितेको एकीकृत समाजवादीले राष्ट्रिय दलको मान्यता पाउन सकेन ।

एकताबारे दोस्रो पंक्तिकै नेताहरूको अविश्वास

एकता सन्दर्भममा दाहाल/नेपालले छलफल गरिरहे पनि यसले सार्थकता पाउनेमा दुवै दलका दोस्रो पंक्तिका नेताहरूले अविश्वास व्यक्त गरेका छन् ।

दुवै दलबीच हाल विश्वासको वातावरण नरहेकाले पहिले समाजवादी मोर्चालाई सक्रिय बनाउँदै त्यसको परिणामले मात्रै यसको बाटो खोल्नसक्ने दुवै दलका नेताहरूको भनाइ छ ।

माओवादी केन्द्रका सचिव राम कार्की दुई दलबीच एकताको आधार नै नबनेको उल्लेख गर्छन् ।

सिद्धान्त, संगठनात्मक पद्धतिलगायतका विषयमा विचार विमर्श विनै दाहाल/नेपालले वार्ता गर्दैमा एकताका आधार तयार नहुने उनको मत छ ।

‘एमालेसँग एकता गरेजस्तो एकताको कुनै अर्थ अब हुँदैन । कालान्तरमा भत्काउने गरी एकता गर्ने हो भने त भन्नु केही छैन ।

यथास्थितिमा एकीकृत समाजवादी र माओवादीबीच एकता निकै कठिन छ,’ कार्कीले भने ।

एकताबारे दलभित्र पनि छलफल हुनुपर्ने उनले बताए । यस विषयमा संस्थागत निर्णयबाट अघि बढ्नुपर्ने उनको भनाइ छ ।

‘यसै पनि पार्टीभित्र संस्थागत निर्णयको परिपाटी कमजोर भयो भनेर प्रश्न उठिरहेको छ । यस्तो बेला नेतृत्वले जथाभावी प्रस्ताव गर्नु हुँदैन ।

कुनै पनि प्रस्ताव अघि पार्टीमा छलफल गरेर अघि बढ्नुपर्छ,’ उनले भने ।

यस्तै, एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा पनि दुई दलबीच एकताको आधार नबनेको बताउँछन् ।

‘राजनीतिक, सैद्धान्तिक र संगठनात्मक प्रश्नको निरूपण नगरी प्रस्तावकै भरमा एकता हुँदैन,’ उनले भने ।

समाजवादी मोर्चालाई वामपन्थी सहकार्य र एकताको उच्चतम स्वरूपमा विकास गर्न भने एकीकृत समाजवादी तयार रहेको उनको भनाइ छ ।

‘अहिले हाम्रो पार्टीको ध्यान समाजवादी मोर्चालाई सुदृढ बनाउनेतर्फ छ । मोर्चा बलियो भयो भने सहकार्यको उच्चतम स्वरूपमा त्यसलाई विकसित गर्न सकिएला ।

माओवादी र एकीकृत समाजवादीबीच यथास्थितिमा एकता हुन सक्दैन,’ खतिवडाले भने ।

मंगलबार बसेको समाजवादी मोर्चाको बैठकले यसलाई एजेण्डाकेन्द्रित बनाउँदै सुदृढ बनाउने निर्णय लिएको छ ।

एक वर्षको अवधिमा मोर्चा निष्क्रियझै रहेकाले अब त्यसलाई सशक्त बनाउने निर्णय भएको नेताहरूले बताएका छन् ।

‘समाजवादी मोर्चा राम्रोसँग चलाए त्यसले परिणाम निकाल्न सक्यो भने ती घटकहरूबीच एकताको आधार बन्नसक्छ ।

अहिले एकताको पासा फाल्नुभन्दा मोर्चालाई सफल ढंगले चलाएर देखाउनु नै हितकर छ,’ राजनीतिक विश्लेषक पोखरेल भन्छन् ।

Page Views: 69
संबन्धित शिर्षकहरु
आजका लागि फलफूल तथा तरकारीकाे थाेक मूल्य कति ?
प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजे बस्ने
किर्ते नागरिकताकाे सिफारिस गर्ने दुई जनप्रतिनिधि पक्राउ
ताजा अपडेट
  • आजका लागि फलफूल तथा तरकारीकाे थाेक मूल्य कति ?
  • प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजे बस्ने
  • किर्ते नागरिकताकाे सिफारिस गर्ने दुई जनप्रतिनिधि पक्राउ
  • स्वर्णिम वाग्ले उपसभापतिमा निर्विरोध निर्वाचित
  • सुनचाँदी दुवैको मूल्य घट्याे
  • जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प गयाे
  • गर्मीका कारण विद्यालय बन्द

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama