Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पूर्व मुख्यसचिव अर्यालसहित १२ विरुद्ध अख्तियार सर्वोच्चमा

- shuvadmin / सोमबार, भदौ ०९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, अन्तःशुल्क स्टिकर छपाइसम्बन्धी भ्रष्टाचार मुद्दामा प्रतिवादी पूर्वमुख्यसचिव वैकुण्ठ अर्यालसहित १२ जनालाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

सो मुद्दामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तात्कालीन सचिव डा. वैकुण्ठ अर्यालसहित १२ जनालाई आंशिक सफाइ दिएको थियो ।

विशेष अदालतले २०८१ मंसिर १३ गते केही प्रतिवादीलाई आंशिक ठहर गर्दै केहीलाई सफाइ दिएको थियो ।

सो फैसलाप्रति चित्त नबुझेपछि अख्तियारले आइतबार सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको हो ।

विशेषले तथ्य र प्रमाणलाई अनदेखा गरेर त्रुटिपूर्ण फैसला गरेको जिकिरसहित अख्तियारको मागदाबीअनुसार नै प्रतिवादीहरूलाई सजाय हुनुपर्ने भन्दै पुनरावेदन दिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले बताए ।

अख्तियारले २०८१ असार ९ मा बहालावाला मुख्यसचिव अर्याल र अर्थमन्त्रालयका सहसचिव रितेश शाक्यसहित १२ जनाविरुद्ध बदनियतपूर्वक सार्वजनिक सम्पत्तिमा हानी–नोक्सानी गराएको आरोपमा भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम मुद्दा दायर गरेको थियो ।

सो क्रममा बिगो ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपियाँ कायम गर्न माग गरिएकोे थियो ।

त्यस्तै स्टिकर छपाइमा भुक्तानी भएको ६ करोड ८४ लाख ४५ हजार ६ सय रुपियाँ प्रतिवादीहरूबाट जनही रूपमा असुलउपर गर्नुपर्ने अभियोग पत्रमा उल्लेख गरिएको थियो ।

सो मुद्दाको किनारा लगाउँदै विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठलाई दोषी ठहर गरी बाँकीलाई सफाइ दिएको थियो ।

सहायक प्रवक्ता अधिकारीले भन्नुभयो– ‘विशेष अदालतको निर्णयले सम्पूर्ण मागदाबी सम्बोधन नगरेकाले सर्वोच्चमा पुनरावेदन गर्नुपरेको हो ।’

विशेषले अदालतले अर्यालसहित भन्सार विभागका उपमहानिर्देशक टंकप्रसाद पाण्डे, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, आन्तरिक राजस्व विभागका निर्देशक गणेशविक्रम शाही, रवीन्द्रप्रसाद पौडेल, लेखा अधिकृत विष्णुप्रसाद गौतम, शाखा अधिकृत हरिबल्लभ पौडेल, खरिद परामर्शदाता शक्तिप्रसाद श्रेष्ठ, प्रिन्टसेल प्रालि कम्पनी र त्यसका निर्देशक केशव शर्मालाई सफाइ दिएको थियो ।

सफाइबारे विशेषले लिएका आधार र तथ्यहरू स्थापित नजिर र अनुसन्धानबाट खुलेका तथ्य र प्रमाणविपरीत भएकाले फैसला बदर गरेर अभियोगपत्र अनुसार सजाय हुनुपर्ने आयोगको पुनरावेदनमा भनिएको छ ।

अख्तियारले सर्वोच्चमा दिएको पुनरावेदनमा विशेष अदालतले प्रतिवादीहरूमाथि पर्याप्त प्रमाण हुँदाहुँदै सफाइ दिएको र केहीलाई कम सजाय तोकेको भन्दै सो फैसला बदर गर्न माग गर्नुका साथै विशेष अदालतले प्रतिवादी डा. अर्यालको भूमिका कमजोर रूपमा मूल्याकंन गरेको दाबी गरेको छ ।

पुनरावेदनपत्रमा भनिएको छ– ‘सुरक्षण मुद्रण विकास समितिको अध्यक्ष रहेर समेत अर्यालले गैरकानूनी कार्यमा मौन सहमति दिएको देखिन्छ ।

तर, अदालतले सो तथ्य ग्रहण नगरी सफाइ दिएको छ, जुन त्रुटिपूर्ण छ ।’त्यस्तै, आन्तरिक राजस्व विभागका तात्कालीन अधिकारीहरू शाक्य, पाण्डे, शाही र पौडेलले प्रारम्भिक कार्यादेशमार्फत बदनियतपूर्ण तवरले खरिद प्रक्रिया अघि बढाएको अख्तियारको आरोप छ ।

विशेष अदालतले तिनीहरूलाई सफाइ दिएको निर्णयसमेत विवादित मान्दै अख्तियारले सर्वोच्चमा पुनरावेदन गर्दै सबै प्रतिवादीलाई आरोपपत्रअनुसार कैद र जरिवाना हुने गरी सजाय गर्न माग गरेको छ।

साथै, हालसम्म भुक्तानी भएको ६ करोड ८४ लाख ४५ हजार ६ सय रुपियाँसमेत असुल गर्नुपर्ने अडान लिएको छ ।

आयोगले पुनरावेदन पत्रमा ने.का.प.२०६६, नि.नं.८०६९, भाग ५१, अंक २ पूर्ण इजलास भनी प्रतिपादित नजिरलाई पनि आधारको रूपमा लिँदै भनेको छ– ‘सम्मानित सर्वोच्च अदालतवाट पुष्परत्न भन्ने आश्विनकुमार स्थापित विरुद्ध नेपाल सरकार भएको मुद्दामा घटनाको कारणका रूपमा प्रस्तुत गरिएको तथ्य अन्य स्वतन्त्र प्रमाणहरूबाट पनि प्रमाणित भएबाट सो बयान स्वेच्छा प्रतिकूलको भनी अदालत समक्ष दाबी दिँदैमा त्यस्तो बयानको प्रामाणिक मूल्यमा प्रश्न उठाउन नमिल्ने ।’

सोको प्रतिकूल हुनेगरी उल्लिखित प्रतिवादीहरूले केवल सजायबाट बच्ने प्रयोजनार्थ कसुरमा इन्कारी वयान गरेको आधारमा सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण भई बदरभागी रहेको पुनरावेदनमा भनिएको छ ।

सञ्चार मन्त्रालय मातहतको सेक्युरिटी प्रिन्टिङ सेन्टरले २०७९ असोज ४ मा आन्तरिक राजस्व विभागका लागि अन्तःशुल्क स्टिकर छाप्न टेन्डर आहवान गरेको थियो ।

सेन्टरले आह्वान गरेको अन्तःशुल्क स्टिकर छपाइको ठेक्का २०७९ मंसिर २६ मा प्रिन्टसेल प्रालिले पाएको थियो । ४३ करोड ३२ थान अन्तःशुल्क स्टिकर प्रतिथान ८९ पैसाका दरमा छाप्ने गरी प्रिन्टसेल र केन्द्रबीच सम्झौता भएको थियो ।

सोही अनुसार सम्झौता भएको स्टिकर छपाइको लागत ३८ करोड ५५ लाख ४८ हजार रुपियाँ हुन आउँछ ।

जबकि, त्यसअघि यस्तै स्टिकर प्रतिथान अधिकतम २५ पैसासम्म पर्दथ्यो । प्रतिथान २५ पैसाले हिसाब गर्दा ती स्टिकरको लागत १० करोड ८३ लाखमात्र पर्ने देखिन्छ ।

तर, त्योभन्दा ४ गुणा बढी लागतमा ठेक्का सम्झौता कायम गरिएको थियो । प्रिन्टसेलले स्टिकरको कागज र मसी मात्र खरिद गर्ने सम्झौता भएको थियो।

बाँकी छपाइको काम सेन्टरबाटै हुने भनिएको सम्झौतामा अस्वाभाविक मूल्य कायम गरेर प्रिन्टसेललाई ठेक्का दिई अग्रिम भुक्तानीबापत ५ करोड रुपियाँ पेस्की दिइएको थियो ।

त्यसबेला सञ्चार सचिवमा अर्याल र सेन्टरको कार्यकारी निर्देशक विकल पौडेल रहेका थिए । सुरक्षण मुद्रण विकास समिति अध्यक्ष सञ्चार सचिव रहने व्यवस्था छ ।

अर्याल र पौडेल सहितका अधिकारीको निर्णयले स्टिकर खरिदको ठेक्का लगाइएको थियो ।

२०७८ साउन २५ देखि २०७९ चैत १४ सम्म सञ्चार सचिव रहेका अर्यालको सञ्चारबाट प्रधानमन्त्री कार्यालय सरुवा भएको थियो । उनी अवकाशको मात्र तीन दिनअघि जेठ ३२ मा मुख्यसचिव बनेका थिए ।

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पुनरावेदनका आधार

–भ्रष्टाचारका मुख्य योजनाकार सुरक्षण मुद्रण केन्द्रका तात्कालीन कार्यकारी निर्देशक विकल पौडेलले तयार गरेको सार्वजनिक खरिद ऐन विपरीतको खरिद गुरुयोजना गैरकानूनी रूपमा स्वीकृत गरेको ।

–विभिन्न तथ्यका आधारमा यस भ्रष्टाचारका मुख्य योजनकार विकल पौडेलसँग बद्नियतपूर्ण सम्बन्ध रहेको तथ्य स्थापित भएको ।

–कानूनी प्रावधानविपरीत निजी क्षेत्रमार्फत अन्तःशुल्क स्टिकर छपाइको लागि आह्वान गरेको बोलपत्रका बारेमा जानकारी हुँदाहुँदै सो प्रक्रियालाई रोक्न वा सच्याउन तथा बदर गराउन कुनै भूमिका नखेलेको ।

–नोक्सानी भएको देख्दादेख्दै पनि कानूनविपरीतको ठेक्का सम्झौता भई पेश्की रकम भुक्तानी गरी अनियमितता गर्न छुट दिएको । यसले मिलेमतोको ठहर पुष्टि भएको ।

–सर्वोच्चबाट ‘कानुनको अनुचित प्रयोग र कानून प्रदत्त सद्विवेकको दुरुपयोग गरी कुनै कार्य वा निर्णय गरिन्छ भने त्यस्तो कार्य वा निर्णय आर्थिक विचलनको द्योतक बन्दछ र यो नै भ्रष्टाचारको आरम्भ विन्दू हुने’ भनी प्रतिवादित कानूनी सिद्धान्तअनुसार यस भ्रष्टाचारमा अर्यालको प्रष्टसँग मिलेमतो रहेको देखिएको ।

–अर्याललाई आरोपीबाट सफाई दिई भएको फैसला नेपाल सरकार रेशम चौधरी समेत भएको मुद्दामा ‘एउटै कसुरमा कसैलाई कारबाही र सजाय गर्ने, कसैलाई उन्मुक्ति दिँदा समाजमा व्याप्त ठूलालाई चैन सानालाई ऐन भन्ने भनाइ चरीतार्थ हुने र कसुरदारलाई फौजदारी कसुरबाट सिर्जित दायित्वबाट उन्मुक्ति दिएमा फौजदारी न्याय मर्ने भएको ।

Page Views: 77
संबन्धित शिर्षकहरु
सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
ताजा अपडेट
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama