काठमाण्डू, नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पूर्वराष्ट्रपति एवम् एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई आफूलेजस्तो सम्मान अरू नेताले गरेका नगरेको भएपनि आज आफ्नै विरोध गरेकोमा आश्चर्य लागेको टिप्पणी गरेका छन्।
बिहीबार सचिवालयमार्फत एक विज्ञप्ति जारी गर्दै ओलीले यस्तो बताएका हुन्। ‘उहाँलाई मैलेजस्तो सम्मान अरू नेताले गरेका छैनन्, तर आज विरोध गर्ने स्थानमा पुग्नु भएकोमा मलाई आश्चर्य लागेको छ,’ उनले भनेका छन्।
ओली(विद्याको बिग्रदो सम्बन्धलाई लिएर पछिल्लो समय धेरै चर्चा भइरहेको छ।
काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरूसँग हिजो भदौ ११ गते अनौपचारिक रूपमा गरेका भेटघाट र छलफलका बारेमा पनि समाचारहरू आएका थिए।
जसमा ओलीले आपत्ति जनाएका छन्। छलफलका प्रसंगहरूलाई तोडमोड गरिएका रूपमै सार्वजनिक गरिँदै आएको भन्दै आफ्नो सचिवालयमार्फत त्यसको खण्डन जारी गरेका छन्।
प्रधानमन्त्रीको स्वकीय सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख भएअनुसार उक्त कार्यक्रम कुनै प्रशिक्षण वा औपचारिक बैठक थिएन, बरु काठमाडौँ उपत्यकामा हुन लागेको पार्टीको दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा प्रतिनिधिहरूसँग गरिएको साधारण भेटघाट थियो। त्यसै दिन ललितपुर जिल्लाका पार्टी पदाधिकारीहरूसँग पनि ओलीको छुट्टै छलफल भएको जनाइएको छ।
सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रसारित ‘एमालेमा मलाई धक्का दिन विद्या भण्डारीबाहेक कसैको दम छैन’ भन्ने भनाइ ओलीले नबोलेको दाबी गर्दै, त्यसलाई भ्रामक र मनगढन्ते भनेका छन्।
भेटघाटमा ओलीले वामपन्थी आन्दोलनको ऐतिहासिक पृष्ठभूमि, पार्टीले लिएको वर्तमान नीति, केन्द्रीय कमिटीका पछिल्ला निर्णयहरू र सरकारको सुशासन तथा विकासप्रति प्रतिबद्धतालगायतका विषयमा आफ्ना धारणा राखेका थिए।
भ्रमपूर्ण र अप्रमाणित सूचना सम्प्रेषण नगर्न आग्रह गर्दै सचिवालयले सत्य तथ्य बुझेर मात्र समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यम र सरोकारवालाहरूलाई अनुरोध गरेको छ।
ओलीका अनुसार भण्डारीले पार्टीमा विधिपूर्वक सदस्यता लिनुको सट्टा मिडिया र अन्य नेताहरूसँग भेटघाट गर्दै सक्रिय राजनीतिमा आउने संकेत दिएकाले यस्तो गतिविधिले पार्टीको एकता र लक्ष्यमा असर पुर्याउने देखिएको छ।
ओलीले भण्डारीको सम्भावित अध्यक्षीय उम्मेदवारीका विषयमा स्पष्ट रूपमा भनेका छन्, ‘उहाँ नेतृत्व लिने हैसियतमा हुनुहुन्न, नेतृत्व क्षमताले हुन्छ, समर्पण र डटेर सामना गर्ने साहसले हुन्छ।’
पार्टीमा आएर अध्यक्ष पदमा उठ्दा हार्नुपर्ने र त्यसपछि विरोधमा लाग्ने सम्भावना औँल्याउँदै ओलीले भण्डारीलाई अहिलेको सम्मानजनक अवस्थामै रहन आग्रह गरेका थिए।
‘मैले उहाँलाई नैतिक आग्रह गरेको हुँ( राजनीतिमा यसरी नआउनुस्, पार्टीमा विवाद ल्याउनुहुन्न,’ ओलीले भनेको उल्लेख गरिएको छ।
साथै, ‘च्यासलले सदस्यता खोस्यो’ भन्ने भण्डारीको आरोपमा पनि ओलीले खण्डन गर्दै भनेका छन्, ‘उहाँले पार्टीमा विधिवत् निवेदन दिनुभएको छैन, प्रक्रिया पूरा भएको छैन।’