काठमाण्डू, नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले फागुनमा चुनाव नहुने दाबी गरेका छन् । यो सरकार चुनाव गराउनका लागि गठन नभएको उनको जिकिर छ ।
मंगलबार आफ्नै निवास भक्तपुरमा पत्रकार सम्मेलनको आयोजना गरी प्रसाईंले जेनजीको आन्दोलन हाइज्याक गरेर बनाइएको सरकारले चुनाव गर्न नसक्ने आरोप लगाएका हुन् ।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ गतेका लागि चुनाव घोषणा गरेको छ ।
‘निर्वाचन हुँदैन, निर्वाचन गराउने खालको बन्यो सरकार ? ,’ प्रसाईंले प्रश्न गरे, ‘पार्टी त खोल्छौं, तर यो सरकारले चुनाव गराउँदैन ।’
प्रसाईंले कार्की नेतृत्वको सरकारका मन्त्रीहरू पश्चिमासँग हिमचिम भएका व्यक्ति भएको आरोप लगाए ।
प्रसाईंले आफूलाई प्रधानमन्त्री बन्न गरिएको प्रस्ताव अस्वीकार गरेको समेत दाबी गरे ।
‘घर, गाडी छँदैछ, म किन प्रधानमन्त्री बन्नु पर्यो ?,’ प्रसाईंले भने, ‘भगवान कृष्ण पनि समयले जन्माएको थियो । देशलाई अप्ठ्यारो परेको दिन प्रसाईं अगाडि बढ्छ ।’