काठमाण्डू, नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको नियमित महाधिवेशन स्थगन भएको घोषणा गरेका छन्।
महामन्त्रीद्वयले बिहीबार विज्ञप्ति जारी गर्दै पार्टीको नियमित महाधिवेशन स्थगन भएको घोषणा गरेका हुन्। अब विशेष महाधिवेशनमा जाने उनीहरूले बताएका छन्।
नियमित महाधिवेशन निर्धारित समयमै सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएपछि अब विशेष महाधिवेशनमा जानुपर्ने अवस्था आएको उनीहरूको भनाइ छ।
‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी केन्द्रीय कार्यालयमा दर्ता गराएको विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्ने प्राथमिक विकल्प नियमित महाधिवेशन नै थियो।
तर, नियमित महाधिवेशन निर्धारित समयमै सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएपछि फेरि पनि विकल्पका रूपमा विशेष महाधिवेशन नै अघि आएको छ,’ उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अतः पार्टी विधानको दफा १७(२) बमोजिम विशेष महाधिवेशनसम्बन्धी मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी हो।’