भक्तपुरकाे ८ नम्बर वडास्थित महेश्वरी पीठ क्षेत्रमा मृत भेटिएका कागहरूमा बर्ड फ्लुको एज ९ भाइरस फेला परेको छ । गत बिहीबार स्थानीयले कागहरू मरिरहेका जानकारी गराएपछि काठमाडौंको टेकुस्थित अनुसन्धान प्रयोगशालामा पठाइएको र त्यहाँबाट प्राप्त रिपोर्टमा बर्डफ्लुको एज ९ भेरियन्ट पुष्टी भएकाे हाे ।
भक्तपुर नगरपालिकाको सूचना अधिकारी दामोदर सुवालका अनुसार बर्डफ्लुको एज ९ भेरियन्ट पुष्टी भएसँगै नगरपालिकाले कुखुरा लगायत पन्छी फारमहरुमा उच्च सतर्कता अपनाउन किसान र व्यवसायीलाई आग्रह गरेको छ । यता पशुपन्छी शाखाकी प्रमुख पार्वती योन्जनका अनुसार उक्त भेरियन्ट मानिसमा नसर्ने तर, पन्छीहरुमा सर्ने जोखिम भने रहने बताएकी छन् ।
त्यसैगरि भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिका अनुसार बर्ड फ्लु फेला परेको पुष्टि भएपछि कुखुरा तथा अन्य पन्छीमा रोग सर्ने जोखिम भएकाले विशेष सावधानी अपनाइएको बताउँदै संक्रमित पन्छीसँगको प्रत्यक्ष सम्पर्क र दाना–पानीमार्फत रोग फैलन सक्ने भएकाले किसान तथा व्यवसायीलाई सार्वजनिक सूचना मार्फत सतर्क गराइएको बताइएकाे छ ।
केहि दिन अघि पूर्वी नेपालकाे झापा, माेरङलगायतका जिल्लाहरुमा बर्ड फ्लुकाे संक्रमण फैलिएकाे थियाे भने काभ्रे र सिन्धुपाल्चाेकमा समेत बर्ड फ्लु संक्रमण फैलन सक्ने भएकाले जिल्ला पशुसेवा कार्यालय धुलिखेल काभ्रे र सिन्धुपाल्चोकमा बर्डफ्लु सङ्क्रमण भित्रन नदिन उच्च सतर्कता अपनाउने निर्णय गरेको थियाे ।