आज दिउँसाे संघीय संसदका दुवै सदनको बैठक बस्दैछ । निर्धारित कार्यतालिका अनुसार, प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजे र राष्ट्रियसभाको बैठक दिउँसाे सवा १ बजे सिंहदरबारमा बस्न लागेकाे हाे ।
सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको आजकाे बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूची रहेकाे छ । त्यसैगरि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्ताव गर्नेछन् ।
प्रतिनिधिसभाको बैठक सभामुख डिपी अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रम रहेकाे छ ।
त्यसैगरि दिउँसाे सवा १ बजे राष्ट्रियसभाको बैठक बस्ने कार्यतालिका रहेकाे छ । राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री शाहले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक बर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेकाे छ ।